Thursday, August 11, 2016

अविश्वास हटाउन भारत र चीनमा विशेष दूत

भारत र चीनसँगको सम्बन्ध सुदृढ र सन्तुलित बनाउने उद्देश्यसाथ सरकारले दुई उपप्रधानमन्त्रीलाई विशेष दूतका रूपमा छिमेकी मुलुकमा पठाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको हो । निधि र महरालाई एक साताभित्रै भारत र चीनमा विशेष दूतका रूपमा पठाउन गृहकार्य सुरु गरिएको छ ।
अघिल्लो सरकारका पालामा भारतसँग बिग्रिएको सम्बन्ध सुधार्न र नयाँ सरकार गठन भएपछि चिनियाँहरूमा बढेको आशंका मेटाउन सरकारले उपप्रधानमन्त्री निधि र महरालाई भारत र चीन पठाउने निर्णय गरेको हो ।
नयाँ सत्ता समीकरणको औचित्यसहितको सन्देश प्रवाह गराउन र दुवै छिमेकी मुलुकमा रहेको अविश्वास र आशंका मेटाउन सरकारले दुई उपप्रधानमन्त्रीलाई छुट्टाछुट्टै मुलुकमा प्रधानमन्त्रीको विशेष दूतका रूपमा पठाउने निर्णय गरेको जानकारी कृषिमन्त्री गौरीशंकर चौधरीले दिए ।
चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सुनिश्चित गराउन, भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमण गर्ने वातावरण बनाउन, प्रधानमन्त्री दाहालको भारत भ्रमणको वातावरण तयार गर्न र दुवै मुलुकमा रहेको अविश्वास र आशंका मेटाएर सम्बन्ध सुदृढ र सुमधुर बनाउन मन्त्रिपरिषद्ले भारत र चीनमा प्रधानमन्त्री दाहालको विशेष दूतमा आफूहरूलाई पठाउने निर्णय गरेको जानकारी उपप्रधान तथा गृहमन्त्री निधिले दिए ।
निधिका अनुसार विशेष दूतका रूपमा पठाउनुअघि प्रधानमन्त्री दाहालले छुट्टै विशेष निर्देशन दिनेछन् । त्यसबारे गृहकार्य भइरहेको निधिले बताए ।
निधिले आफूहरू छिट्टै भारत र चीनमा प्रधानमन्त्रीको विशेष दूतका रूपमा जान लागेको जानकारी दिए । ‘हामी जानुभन्दा पहिला प्रधानमन्त्रीले हामीलाई बोलाएर छुट्टै निर्देशन दिनुहुनेछ', निधिले भने ।

Source  :    www.annapurnapost.com/

No comments:

Post a Comment