Thursday, August 11, 2016

पहिलो नेपाली एनिमेशन चलचित्र 'शंखधरको कथा'

परम्परागत् कलाका लागि नेपाल विश्वमै उत्कृष्ट मानिन्छ र गएको दशकमा कम्प्युटर विज्ञानको शिक्षण र उपयोगितामा पनि नेपालले ठूलो फड्को मारिसकेको छ।
यी दुवै संकायको मिश्रण मानिने एनिमेशन कलाको नेपालमा पनि विकास हुन सक्यो भने देशले लिन खोजेको नयाँ मोंडमा केहि सहयोग अवश्यै पुग्नेछ। रोजगारी र व्यवसायको अवसर सिर्जना हुनुको साथसाथै नेपाली कला र संस्कृतिले पनि नयाँ युगमा प्रवेश गर्ने आशा लिनसकिन्छ।
आज भन्दा १५ वर्ष अगाडि नेपालमा एनिमेशन सम्बन्धि कुरा गर्दा धेरैले बुझ्दैनथे। त्यस ताका एनिमेशन शब्द निकै नयाँ थियो। यहाँसम्म कि इञ्जिनियरिंग परिषदमा दर्ता हुन जाने बेलामा समेत 'एनिमेटर भनेको पनि पेशा हुन्छ र?' भनेर सोध्थे। डेढ दशक अगाडि मैले एउटा ठूलो सपना देखेको थिएँ, - नेपाली भाषामा एनिमेशन चलिचत्रको निर्माण गर्ने।
जसका लागि नेपालमै बसेर ९ महिना लामो संघर्ष पनि गरें। तर एनिमेशन भनेको त्यति सजिलो विधा हैन। संसारका विभिन्न ठाउँमा छरिएर रहेका ५०० जति दक्ष प्राविधिक र कलाकारहरू मिलेर ५-६ वर्ष निरन्तर काम गरे पछि १-२ घण्टाको चलचित्र तयार हुन्छ। त्यस ताका हामीलाई यस कुराको राम्रो ज्ञान थिएन।
आज आएर नेपाली प्राविधिकहरू विश्वभर फैलिएर काम गरिरहेको अवस्था छ। गएको दुई दशकभित्र मैले नबनाए पनि एनिमेशन चलचित्र कसै न कसैले त बनाउलान् भन्ने म सोच्थें तर त्यो हुन सकेन। ठूलो योजनाका लागि लगानी र प्रविधि मात्र नभएर उत्तिकै ठूलो सपना पनि देख्नु पर्दो रहेछ भन्ने मैले बुझें।
गएको ६ वर्ष भित्र मेरो संकल्पमा आगोमा घ्यू थप्ने काम बेलायतको पासा पुच: गुथि नामको सांस्कृतिक संस्थाले गर्यो। यहाँ मैले नेपाली संस्कृति र नेपालभाषा सिक्ने मौका पाएँ। महासचीवका रूपमा गुथिको सेवा गर्ने क्रममा सत्यमोहन जोशी, कमल प्रकाश मल्ल, काशीनाथ तमोट, मानिकलाल श्रेष्ठ, गणेशराम लाछी र बालगोपाल श्रेष्ठ जस्ता नेपाली इतिहास र संस्कृतिका विद्वानहरूसँग धेरै कुरा सिक्ने मौका पाएँ। फलत:, नेपाली एनिमेशन कलाको रूपरेखा कस्तो हुनुपर्छ भन्ने बारेमा सोच्न मलाई सजिलो हुँदै गयो।

Source  :   www.annapurnapost.com/

No comments:

Post a Comment