अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो । उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले । मञ्चका अतिथि र उपस्थित दर्शकको मन थामिएन । सबै भक्कानिए । आँखाबाट बगेका आँसु पुछ्न थाले । जुनीजुनीलाई माया गाँस्ने कसम खाएर चितवन रत्ननगरका जीवन थापासँग बिहे गरेकी थिइन् फिलिपिनो नागरिक जोयालिन ग्रेस टेलेरमो माइजारेसले । उनको छोटकरी नाम हो जोया । चार वर्षको अन्तरालमै फाटो आउँछ भन्ने उनको मनले कति पनि चिताएको थिएन । भैदियो उल्टो ! जोयाले श्रीमानको यातनाबीच कष्ट गरी दुई छोरा जन्माइन् । श्रीमानबाट हेला भएपछि गाउँमा पछ्यौरामा चामल सापटी थापेर अनि दाउरा मागेर फाटेको कटेरोमा कष्टले रात गुजार्थिन् । अति हुन थालेपछि सहन सकिनन् । “पहिले धेरै माया गर्छु भन्यो, पछि जाँड, रक्सी, लागुपदार्थमा फस्यो, धेरै कष्ट सहेँ,” शुक्रबारको बिदाइका क्रममा मन कुँड्याउँदै जोयाले भनिन् । पाँच महिनाअघि नाबालक दुई छोरा काखी च्यापेर उनी भौँतारिँदै बालकुमारी कलेज अगाडिको सडकमा आइपुगिन् ।
नारायणगढको एक कन्सल्टेन्सीमा श्रीमानले काम गरेको छ भन्ने थाहा पाएर पैसा दिन्छ कि भन्ने आशमा आएकी थिइन् उनी । गाउँलेले उनको पीडा थाहा पाएर आदर्श गृहमा खबर गरेका थिए । त्यसपछि उनमा आशा पलायो । साढे ३ वर्षअघि चितवनका जीवनलाई उनले दुबईमा कामको सिलसिलामा भेटेकी थिइन् । सात छोराछोरीका एक्ला कमाई गर्ने अभिभावक जोयाका बुबा रेन्याई थिए । मेकानिकल टेक्निसियन बुबाको कमाईले परिवार धान्न मुस्किल भएपछि जोया पैसा कमाएर परिवारको गर्जो टार्ने धोको बोकेर दुबई पुगिन् । केएफसी अमेरिकन भन्ने रेस्टुराँमा काम पाइन् । काम गर्दा नेपाली केटा जीवनसँग भेट भयो । अनि माया गाँसियो । त्यसको केही महिनामै गल्ती गरेकाले जीवनलाई प्रशासनले समात्यो । “आफ्नै दुई–तीन महिना जम्मा गरेको पैसाले उनलाई निकालेर नेपाल आउने सबै खर्च हालेकी हुँ” – जोयाले भनिन् । तीन वर्षअघि नेपालमा एकमहिने पर्यटक भिसामा सँगसँगै आइन् । एकमहिने भिसा सकिएपछि जीवनले च्यातेर फ्याँकिदिए । बाँकी रहेको पहिलो र अन्तिम पाना राखिन् उनले । कुनै कानुनी प्रक्रिया बिना नै श्रीमान् श्रीमती भएर बसे ।
बीचमा रत्ननगरको बकुलहर, पर्साैनी, सौराहाचोकलगायत क्षेत्रमा रेस्टुराँ नै खोलेर बसे । श्रीमानका कारण सम्बन्धमा दरार आएपछि उनलाई फर्कन कानुनी व्यवधान खडा भयो । भिसा नभएपछि फर्कंदा प्रहरीले समात्ने डर । श्रीमानको धाकधम्की, कुटपिट, यातनासमेत सहिन् । श्रीमान् जीवन बिस्तारै कुलतमा लागेका केही युवाको सङ्गतमा वीरगन्ज पुगे । दुव्र्यसनमा फसेपछि उनको जीवन थप पीडामा बित्न थाल्यो । भाँैतारिँदै हिँड्दा आदर्श गृह चितवनको सम्पर्कमा आइन् । गृहकै पहलमा स्थानीय प्रशासनको समन्वयमा उनलाई घर फर्काउन सफल भएको हो । छोरा अस्पतालमा जन्मेको आधारमा स्थानीय प्रशासनले कागजसम्म मिलाइदिएर उनी छोरा बोकेर घर फर्कन लागेकी हुन् ।
Source : www.nepalipatra.com/

No comments:
Post a Comment