मधेस आन्दोलन क्रममा विस्थापितलाई फर्काउने बहानामा कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई मधेसी मोर्चाले सरकारमार्फत उन्मुक्ति दिलाउने प्रयास गरेको बताउँदै पीडित परिवारले आपत्ति प्रकट गरेका छन् ।
पछिल्लो मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका क्रममा कात्तिक १० गते बिहान वीरगन्ज २६ का रामविनेशप्रसाद कुशवाहालाई इन्धन तस्करी आरोपमा मोर्चाका कार्यकर्ताले कुटेर हत्या गरेका थिए । कुशवाहाले ट्यांकीबाट पेट्रोल खन्याउन नमान्दा कुटपिट गरिएको थियो ।
प्रहरी अनुसन्धानले जगरनाथपुरका अमर यादवलगायत समूहले हत्या गरेको खुलेको थियो । हत्या आरोपमा पक्राउ परेका यादव अहिले पुर्पक्षका लागि वीरगन्ज कारागारमा छन् । उनका ६ सहयोगी फरार छन् । ३५ वर्षीय यादव संघीय समाजवादी फोरम नेपालका गाउँ कमिटी अध्यक्ष थिए । कुटपिटबाट कुशवाहको ज्यान गएपछि घटनास्थलभन्दा केही दूरीमा शव फालेको उनको बयानमा उल्लेख छ । वीरगन्जको सिर्सिया बन्दरगाह–परवानीपुर सडकको जगरनाथपुर चोकबाट एक सय मिटर उत्तरपट्टि खेतमा कुशवाहाको शव फेला परेको थियो ।
सीमावर्ती ग्रामीण नाकाबाट सोही सडक भएर बाराको सिमरा र पथलैया पुग्ने भएकाले मोर्चाले इन्धन तस्करी नियन्त्रणका लागि उक्त चोकमा कार्यकर्ता खटाउँदै आएको थियो । उक्त चोकमा आन्दोलन उत्कर्षमा रहेका बेला एक दर्जनभन्दा बढी सवारी साधन लुटिएका थिए । कुशवाहाको हत्यालाई दुर्घटना बनाउने प्रयाससमेत गरिएको थियो । त्यसबेलाको आन्दोलनकारी मोर्चा अहिले नयाँ सत्ता समीकरणको समर्थक बनेपछि आन्दोलन क्रममा दर्ता भएका मुद्दा फिर्ता गर्ने सहमति भएको थियो । सोही क्रममा मोर्चाका स्थानीय नेताले गत सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा आन्दोलनका क्रममा विभिन्न मुद्दा लागि फरार रहेकाको विवरण बुझाएका थिए ।
आन्दोलन जनपरिचालन समिति संयोजक तथा संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादव नेतृत्वको टोलीले प्रजिअ केशवराज घिमिरेलाई तीनबुँदे ज्ञापनपत्र बुझाएको थियो । विवरणमा कुशवाहा हत्याका फरार अपराधीको नाम समेत समावेश भएको सार्वजनिक भएपछि पीडित परिवारले बुधबार हत्याजस्तो जघन्य अपराधलाई मधेस आन्दोलनसँग नजोडिदिन आग्रह गरेका हुन् । मृतकका भाइ दिनेशप्रसादले मधेस आन्दोलन वीरगन्ज केन्द्रित भए पनि रामविनेशको हत्या गाउँमा गरिएको बताए ।
Source : kantipur.ekantipur.com/

No comments:
Post a Comment