राजधानीका ग्यासबिक्रेता अचेल फुर्सदमा छन्। किनकि, उनीहरुका पसलमा ग्यास छ, किनिलाने उपभोक्ता आउँदैनन्। अभावका बेला उपभोक्ताले सकीनसकी चाहिनेभन्दा बढी सिलिन्डर सञ्चित गर्दा अहिले बजारमा ग्यास फालाफाल भएको हो। आयात घटाउँदा पनि ग्यास किन्ने उपभोक्ता नपाएर बिक्रेता हैरान छन्।
नेपाल आयल निगमका अनुसार असारमा २७ हजार ५ सय टन ग्यास आयात भएको थियो। साउन २४ सम्म १३ हजार टन मात्र आयात गर्दा पनि बजारमा ग्यास छेलोखेलो छ।
अघिल्लो महिनाको दाँजोमा यो महिना आयात नै झन्डै आधा घटे पनि ग्यास नबिक्दा पसले हैरान छन्। निगमले साउन महिनालाई करिब ३७ हजार टन ग्यास ल्याउन पिडिओ (खरिद आयात अनुमति आदेश) जारी गरेको थियो।
भारतले अघोषित नाकाबन्दी लगाउँदा अघिल्लो वर्ष आठ महिना राजधानीमा ग्यासको हाहाकार मच्चिएको थियो। त्यतिबेला 'ग्यास वितरण गर्दा भिड नियन्त्रण गर्न प्रहरी बोलाउनुपर्थ्याे। आपूर्तिभन्दा अधिक मागका कारण उपभोक्ताको भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्जसमेत गरे। ग्यास नदिएको भन्दै पसलेसँग थुप्रै साथीभाइ र आफन्त रिसाए पनि। त्यति मात्र होइन, एक सिलिन्डर ग्यास उपलब्ध गराइदिनेप्रति ठूलै गुन सम्भि्कए उपभोक्ताले। नेतादेखि सरकारी उच्च अधिकारीसम्म ग्यास माग्दै पसलेलाई फोन गरेर हैरान पार्थे।
स्थिति ठ्याक्कै उल्टो छ अहिले। अधिकांश उपभोक्ताकहाँ भरिएका ग्यास सिलिन्डर छन्, आवश्यक नभएकाले उनीहरु थप किन्न बजार जाँदैनन्।
निगमले साउनका लागि इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीका लागि १३ हजार टन, हल्दिया १२ हजार, मथुरा ६ हजार, पारादीप ५ हजार टन र पानीपथ (कर्नाल) बाट १ हजार टन ग्यास ल्याउन पिडिओ जारी गरेको थियो।
ग्यास अभाव भएपछि निगमले आइओसीका अधिकारीलाई अनुरोध गरेर २९ हजार टनको कोटा ३७ हजार पुर्याएको थियो। उपभोक्ता, ग्यास उद्योगी, संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले समेत ग्यासको कोटा बढाउन दबाब दिएपछि आपूर्ति सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष श्रीधर सापकोटा, निगमका कार्यकारी निर्देशक गोपाल खड्का नेतृत्वको टोली भारत पुगी आइओसीका अधिकारीसँग वार्ता गरेर कोटा बढाएका थिए। पारादीप रिफाइनरीबाट ग्यास ल्याउने बाटो खोले पनि अहिले आयात घटेपछि ग्यास ल्याउन त्यहाँ पुग्नुपर्दैन।
Source : www.nagariknews.com/

No comments:
Post a Comment