Thursday, August 11, 2016

१८ घन्टा अपरेसनपछि बालिकाको उद्धार

सोमबार बिहान ४ बजे। मोरङको पथरी मस्त निद्रामा थियो। राजमार्गको त्यो बस्तीको एउटा घरमा भने हलचल थियो। सादा पोसाकमा रहेका सुरक्षाकर्मीले घर घेरा हालेका थिए। केही भित्र पसेका थिए। ५ वर्षकी बालिका ओछ्यानमा मस्त निद्रामा थिइन्। निदाइरहेकै अवस्थामा प्रहरीले बालिकालाई अँगालोमा राखे। र, बिस्तारै घरबाहिर निस्किए।
स्कुलबाट घर फर्किरहेकी भारत, बिहार, कटिहार कुरसेलाकी स्पर्श (छवि) अग्रवालको बुधबार (साउन १९ ) अपहरण भएको थियो। पेट्रोलपम्प सञ्चालक भानु अग्रवालकी छोरी स्पर्शलाई अपहरण गरिएकै साँझ नेपाल ल्याइएको र पथरी–४ स्थित रीता साहको घरमा अपहृत बालिकासहित अपहरणकारी लुकेको सूचनाका आधारमा प्रहरीले सोमबार बिहान त्यो घरलाई घेराबन्दी गरेको थियो।
प्रहरीले स्पर्श अपहरणमा संलग्न सुनसरी, इनर्वा–५ का दिनेश गुप्तालाई पक्राउ गरेको छ। ‘स्पर्श सुतेकै कोठामा गुप्ता पनि सुतिरहेको थियो,’ अपरेसनमा खटिएका पूर्वक्षेत्र प्रहरी कार्यालयका एक अधिकृतले भने, ‘बच्चालाई केही गर्ला भनेर हामीले पहिले सुतिरहेकै अवस्थामा स्पर्शलाई सेफ साइड गर्‍यौं, अनि मात्र गुप्तालाई नियन्त्रणमा लियौं।’
स्पर्शलाई सधैंझैं बुधबार पनि बुबा भानुले स्कुल पुर्‍याइदिएका थिए। उनी सधैं बुबाको गाडी चढेर स्कुल जान्थिन्, फर्किंदा स्कुलबसमा।
त्यस दिन स्पर्शको घर नपुग्दै गाडी घ्याच्च रोकियो। बाहिर २–३ जना बलेरो गाडीमा बसेका थिए। एनबिआर स्कुलमा केजीमा पढ्दै गरेकी स्पर्शलाई परिचित व्यक्तिले नै गाडीबाट तल झारे। र, बलेरोमा लगेर बसाइदिए। ‘घर नपुग्दै बाटोमै स्कुलबस रोकेर स्पर्शलाई उतार्ने त्यही स्कुलका पुराना ड्राइभर हुन्,’ स्पर्शका बुबा भानुले भने, ‘मिथुन पासवान हो उसको नाम, स्कुल बस हाँकेकाले छोरीलाई उसले चिन्थ्यो।’ कटिहार प्रहरीले पासवानलाई पक्रिसकेको छ।
आइतबार १२ बजेर ३० मिनेट। पूर्वक्षेत्र प्रहरी कार्यालयका प्रमुख डिआइजी केशरीराज घिमिरेको मोबाइल बज्यो। ‘जयनेपाल’ भन्दै उनी फोनमा कुरा गर्न थाले। प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले स्पर्श अपहरणबारे आएको सूचना डिआइजी घिमिरेलाई सुनाइरहेका थिए। उनले लगत्तै अपरेसन थालिहाल्न निर्देशन दिए।
‘१८ घन्टा लगातार अपरेसनपछि अपहृत बालिकाको उद्धार गरियो,’ सोमबार अपराह्न डिआइजी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले भने, ‘धनकुटा, सुनसरी र मोरङको ६ ठाउँमा रेड हानियो, बल्ल पथरीको एउटा घरबाट रेस्क्यु गरियो।’
प्रहरीको क्षेत्रीय अपराध ब्युरो, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले अपरेसन गरेको थियो।

Source  :  www.nagariknews.com/

No comments:

Post a Comment