Monday, August 15, 2016

मुद्दा सम्बोधन नभएसम्म मोर्चा सरकारमा नजाने


तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको तीन बुँदे  सहमतिअनुसार संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा नजाने बताएका छन्  । 
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवस्थापिका–संसद्को बैठमा आज बधाई र शुभकामना दिँदै उनले तीनबुँदे सहमतिका आधारमा प्रधानमन्त्रीका पक्षमा मत हालेको जनाउँदै नयाँ सरकार बने पनि आफूहरुको लक्ष्य पूरा नभएको बताए । 
उनले सीमाङ्कनसम्बन्धी मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने स्पष्ट गर्दै उनले देशमा अराजकता नहोस् भन्ने आफूहरुले चाहेको र मुलुकलाई सम्मानजनक निकास दिनुपर्ने बताए । 
सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले मधेसी, जनजाति र मुसलमानलाई अलग राखेर कसैले राष्ट्रवादको कुरा गरेमा एक राष्ट्रको मात्र राष्ट्रवाद हुने बताउँदै सबै असन्तुष्ट समुदायलाई सर्वस्वीकार्य बनाउन प्रधानमन्त्रीलाई सफलता मिलोस् भने । 
उनले मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा, हिंसात्मक घटनाको छानबिनको प्रक्रिया आरम्भ भएकामा सरकारप्रति आभार व्यक्त गरे । कर्णले संविधान संशोधनको प्रस्तावमा एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । 
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का जनकराज चौधरीले राष्ट्रिय सहमतिको यात्राका लागि कसैलाई निधेष गर्न नहुने बताए । रासस 


Source :  hamrakura.com/

नेपाली चलचित्र परिवर्तनको बाटोमा छ : गगन थापा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपाली चलचित्रमा बदलाव आएको बताएका छन् । उनले भने, 'पछिल्लो समय युवाहरुले चुनौतिपूर्ण किसिमले नयाँ-नयाँ प्रयोग चलचित्रमा गरेको पाइन्छ, नेपाली चलचित्रमा आएको परिवर्तनको सन्देश यहि हो ।' थापाले बुधबार राजधानीमा आयोजीत साइन्स फिक्सन चलचित्र ‘बिजुली मसिन’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उक्त धारणा राखेका हुन् । संसदको कृषि तथा जलश्रोत समितिका सभापति समेत रहेका थापाले उर्जा संकटको विषयलाई ज्वलन्त रुपमा उठाउदै आएका छन् । 
 
चलचित्र निर्देशक नविन अवालले उर्जा संकटका कारण देशले भोग्नुपरेको नियती र आम नेपालीहरुमा देखिएको असहजता तथा अभावको दैनिकीलाई  चलचित्रमा कलात्मक ढंगले देखाउने बताए ।  कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले युवापुस्ताले नयाँ कथामा चलचित्र निर्माण गरेकोमा खुशी व्यक्त गर्दै चलचित्रको विषय आफ्नाे लागि नौलो भएको बताए ।
 
कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, खेलाडि विमल घर्ती मगर, धावक सञ्जय पण्डित, सञ्चारकर्मी सिर्जना दुवाल श्रेष्ठ, व्यवसायी प्रसन्ना बस्नेत, समाजसेवी नलिन सेन थापा र विवकेशिल नेपालीबाट पुकार बमलाई सम्मान गरिएको थियो ।


Source :  hamrakura.com/

क्षतिग्रस्त भोटेकोसी आयोजना बन्न अढाइ वर्ष लाग्ने

भूकम्प र बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन अढाइ वर्ष लाग्ने भएको छ । 
 
गत वर्षको भूकम्प र परकम्पले क्षतिग्रस्त भई बन्द भएको आयोजनालाई आगामी भदौ–असोजमा सञ्चालनमा ल्याउने तयारी भइरहेकामा गत असार २१ गतेको बाढीले थप क्षति पुर्‍याई तहसनहस भएपछि अबको साढे दुई वर्षपछि मात्र सञ्चालनमा आउन सक्ने प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिले बताए । 
 
पैँतालिस मेगावाटको उक्त आयोजनाको तातोपानी गाविसस्थित १० किलोमा रहेको बाँध पूरै क्षतिग्रस्त भएको छ । बाँधमा राखिएका आठ आठ मिटरका दुई ढोका समेत बाढीले पुरिएको छ । कङ्क्रिट ढलानको बाँधको सडकपट्टिको कमजोर भुभागबाट बाढीले खोलेपछि हाल सोही ठाउँबाट नदी बहेको छ । फुलपिङ्कट्टी गाविसस्थित विद्युत्गृह पानीले डुबाएको थियो ।
 
 अहिले पानी निकालिए पनि के कति क्षति भयो भन्ने यकिन समेत गर्न नसकिएको आयोजनाले जनाएको छ । “हाल नदीमा पानीको बहाव घटेको छैन,” प्रजापतिले भन्नुभयो, “अहिले क्षतिको यकिन विवरण भन्नै सकिँदैन, विद्युत् उत्पादन गर्न कम्तीमा पनि साढे दुई वर्ष लाग्छ ।”
 
नदीमा पानीको बहाब घटेपछि मङ्सिर पुसमा मात्र इन्जिनियरको टोली निरीक्षण गर्न जाने हुँदा त्यसपछि मात्र यथार्थ विवरण आउने प्रजापतिले बताए । भूकम्प र बाढीले माथिल्लो भोटेकोसी जलविद्युत् आयोजना मात्र नभई तातोपानी गाविसस्थित ३.१ मेगावाटको भैरवकुण्ड जलविद्युत् आयोजना पनि हाल बन्द छ । 

Source :  hamrakura.com/
-

थपिए तीन नयाँ मन्त्री, मन्त्रालय भने जिम्मा लगाईएन

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार पहिलो पटक विस्तार भएको छ । प्रधानमन्त्री दाहालले सोमबार साँझ राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना र नेकपा संयुक्तका एक जना नेतालाई मन्त्रीमण्डलमा सहभागी गराएर मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । जस अनुसार नेपा संयुक्तबाट जयदेव जोशी, राप्रपाबाट दीपक बोहरा र विक्रम पाण्डेलाई मन्त्री बनाइएको छ । मन्त्री बनेकाहरुमध्ये ३ जनालाई हिजो नै राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनुभएको छ । यद्यपि नवनियुक्त मन्त्रीलाई कुन कुन मन्त्रालय दिने भन्ने विषयमा भने अहिलेसम्म केही खुल्न सकेको छैन ।

 प्रधानमन्त्री प्रचण्डले केहीदिनभित्रै अन्य मन्त्रालयमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ । वर्तमान सत्ता गठबन्धनमा सहभागी दलहरुले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली टुंगो लगाउने काम आज र भोलिभित्रै सम्पन्न गरेपछि मन्त्रीहरुको नाम प्रस्ताव गर्ने बुझिएको छ । ९ महिनाका लागि बनेको वर्तमान सरकारमा सहभागी हुने दल र तिनका नेताहरुको आकार पनि जम्बो हुने अनुमान गरिएको छ । यसअघि प्रचण्ड नेतृत्वको सरकार गठन भएलगत्तै ६ जनाको मन्त्रीमण्डल तयार भएको थियो ।

Source :  www.janapukar.com/ 

प्रधानमन्त्रीको विशेष दूतमा उपप्रधानमन्त्री महरा चीन प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा आज चीनतर्फ प्रस्थान गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमण लगायत नेपाल–चीन द्विपक्षीय सम्बन्ध विकासका लागि उपप्रधानमन्त्री महरालाई सरकारले चीन पठाउने निर्णय गरेको हो । महरा परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याललाई साथै लिएर आज बिहान चीन प्रस्थान गर्नुभएको हो । चीन प्रस्थान गर्नु पहिले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग छोटो कुरा गर्दै मन्त्री महराले चिनीयाँ नेतृत्वलाई नेपाल भ्रमणको निम्ता दिनु, नेपालको आर्थिक विकासमा सहयोगको आग्रह गर्नु तथा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउनु आफ्नो भ्रमणको उद्देष्य भएको बताउनुभयो ।

  छेन्दु हुँदै चीनको बेइजिङ पुगेपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले चीनको उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । उहाँ भदौ ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।  चीन बसाईका क्रममा उपप्रधानमन्त्री महराले नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणमा केन्द्रीत रहेर सम्बद्ध उच्च अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ । 

राष्ट्रपति बिद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सिलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणापत्र विशेष दूत महराले चीन सरकारलाई हस्तान्तरण गर्ने छन् ।  त्यसैगरि प्रधानमन्त्री दाहालले चीनका प्रधानमन्त्री ली खछचाङलाई नेपाल भ्रमण गर्न संप्रेषण गरेको आमन्त्रणपत्र पनि उपप्रधानमन्त्री महराले सम्बद्ध चिनियाँ अधिकारीहरुलाई हस्तान्तरण गर्ने हुनु भएको छ ।

 चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने विश्वसनीय वातावरण तयार पार्नु तथा चिनियाँ पक्षलाई सम्पूर्णरुपमा आश्वस्त तुल्याउनु उपप्रधानमन्त्री महराको चीन भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ ।  मन्त्रिपरिषदको गत बिहिबार बसेको बैठकले महरालाई चीन र उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको थियो । 

Source :  www.janapukar.com/

Sunday, August 14, 2016

दुई छोराका साथ रुँदै फिलिपिन्स हिडिन ‘जोया’

अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो ।   उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले । मञ्चका अतिथि र उपस्थित दर्शकको मन थामिएन । सबै भक्कानिए । आँखाबाट बगेका आँसु पुछ्न थाले ।   जुनीजुनीलाई माया गाँस्ने कसम खाएर चितवन रत्ननगरका जीवन थापासँग बिहे गरेकी थिइन् फिलिपिनो नागरिक जोयालिन ग्रेस टेलेरमो माइजारेसले । उनको छोटकरी नाम हो जोया । चार वर्षको अन्तरालमै फाटो आउँछ भन्ने उनको मनले कति पनि चिताएको थिएन । भैदियो उल्टो !   जोयाले श्रीमानको यातनाबीच कष्ट गरी दुई छोरा जन्माइन् । श्रीमानबाट हेला भएपछि गाउँमा पछ्यौरामा चामल सापटी थापेर अनि दाउरा मागेर फाटेको कटेरोमा कष्टले रात गुजार्थिन् । अति हुन थालेपछि सहन सकिनन् । “पहिले धेरै माया गर्छु भन्यो, पछि जाँड, रक्सी, लागुपदार्थमा फस्यो, धेरै कष्ट सहेँ,” शुक्रबारको बिदाइका क्रममा मन कुँड्याउँदै जोयाले भनिन् ।   पाँच महिनाअघि नाबालक दुई छोरा काखी च्यापेर उनी भौँतारिँदै बालकुमारी कलेज अगाडिको सडकमा आइपुगिन् ।

 नारायणगढको एक कन्सल्टेन्सीमा श्रीमानले काम गरेको छ भन्ने थाहा पाएर पैसा दिन्छ कि भन्ने आशमा आएकी थिइन् उनी । गाउँलेले उनको पीडा थाहा पाएर आदर्श गृहमा खबर गरेका थिए । त्यसपछि उनमा आशा पलायो ।   साढे ३ वर्षअघि चितवनका जीवनलाई उनले दुबईमा कामको सिलसिलामा भेटेकी थिइन् । सात छोराछोरीका एक्ला कमाई गर्ने अभिभावक जोयाका बुबा रेन्याई थिए । मेकानिकल टेक्निसियन बुबाको कमाईले परिवार धान्न मुस्किल भएपछि जोया पैसा कमाएर परिवारको गर्जो टार्ने धोको बोकेर दुबई पुगिन् । केएफसी अमेरिकन भन्ने रेस्टुराँमा काम पाइन् । काम गर्दा नेपाली केटा जीवनसँग भेट भयो । अनि माया गाँसियो । त्यसको केही महिनामै गल्ती गरेकाले जीवनलाई प्रशासनले समात्यो । “आफ्नै दुई–तीन महिना जम्मा गरेको पैसाले उनलाई निकालेर नेपाल आउने सबै खर्च हालेकी हुँ” – जोयाले भनिन् ।    तीन वर्षअघि नेपालमा एकमहिने पर्यटक भिसामा सँगसँगै आइन् । एकमहिने भिसा सकिएपछि जीवनले च्यातेर फ्याँकिदिए । बाँकी रहेको पहिलो र अन्तिम पाना राखिन् उनले । कुनै कानुनी प्रक्रिया बिना नै श्रीमान् श्रीमती भएर बसे ।

 बीचमा रत्ननगरको बकुलहर, पर्साैनी, सौराहाचोकलगायत क्षेत्रमा रेस्टुराँ नै खोलेर बसे । श्रीमानका कारण सम्बन्धमा दरार आएपछि उनलाई फर्कन कानुनी व्यवधान खडा भयो ।   भिसा नभएपछि फर्कंदा प्रहरीले समात्ने डर । श्रीमानको धाकधम्की, कुटपिट, यातनासमेत सहिन् । श्रीमान् जीवन बिस्तारै कुलतमा लागेका केही युवाको सङ्गतमा वीरगन्ज पुगे । दुव्र्यसनमा फसेपछि उनको जीवन थप पीडामा बित्न थाल्यो । भाँैतारिँदै हिँड्दा आदर्श गृह चितवनको सम्पर्कमा आइन् । गृहकै पहलमा स्थानीय प्रशासनको समन्वयमा उनलाई घर फर्काउन सफल भएको हो । छोरा अस्पतालमा जन्मेको आधारमा स्थानीय प्रशासनले कागजसम्म मिलाइदिएर उनी छोरा बोकेर घर फर्कन लागेकी हुन् ।

Source :  www.nepalipatra.com/

‘अधिकांश उपभोक्ताको भान्सामा सिलिन्डर बम'

खाना पकाउने ग्यास सिलिन्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छ । यो बजारमा रहेका सिलिन्डरमध्ये करिब १० प्रतिशत हो । ‘ग्यास उद्योगको निरीक्षण क्रममा १० प्रतिशतभन्दा बढी सिलिन्डर गुणस्तहीन फेला परेको हो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘मुख्य समस्या पुराना ग्यास उद्योगमा छ ।’ 
२०२६ मा नेपाल ग्यास उद्योग प्रालि स्थापना भएपछि अहिले ग्यास उद्योग संख्या बढेर ५३ पुगेको छ । तीमध्ये दुई–चार ग्यास उद्योग बाहेककाले गुणस्तरमा ध्यान नदिएको उनले बताए । सिलिन्डरभित्र लेदो जमेको, हाइड्रोलिक टेस्ट नभएका, कुच्चिएका, फुटरिङ (एउटाको पिँध काटेर अर्कोमा हालेको) लगायतका कैफियत देखिएका हुन् ।
कम गुणस्तरका सिलिन्डर बिक्री गरेर उद्योगीले सर्वसाधारणलाई जोखिममा पारेको उपभोक्ताको भनाइ छ । ‘अधिकांश उपभोक्ताको भान्सामा सिलिन्डर बम छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘कम गुणस्तरका सिलिन्डर तत्काल अनुगमन गरी नष्ट गर्नुपर्छ ।’ 
गुणस्तरहीन रेगुलेटर/पाइप र समयमै हाइड्रोलिङ/हाइड्रो स्टाटिक टेस्ट नहुँदा ग्यास फर्कने, ग्यास लिक भई आगो लाग्ने जस्ता घटना हुँदै आएका छन् । पुरानो/बिग्रिएका सिलिन्डरबाट ग्यास लिक हुने र पडकने जोखिम रहने उनले बताए । 
ग्यास बिक्रेता महासंघका अनुसार प्राय: सबै कम्पनीमा कम गुणस्तरका सिलिन्डर छन् । तीमध्ये पुरानो कम्पनीमा बढी समस्या छ । ५३ उद्योगका गरी करिब ६५ लाख सिलिन्डर छन् । तर समयमै हाइड्रोलिङ/हाइड्रो स्टाटिक टेस्टलगायत परीक्षण नहँुदा जोखिम बढदै गएको छ । हाइड्रोलिङ/हाइड्रो स्टाटिक परीक्षण हावा र पानीको प्रेसरबाट गरिन्छ । रिफिल भएको सिलिन्डर पानीमा डुबाइन्छ । त्यसलाई डिप टेस्ट पनि भनिन्छ । डिप टेस्ट गर्दा लिकेज भएको अवस्थामा बबल्स हुन्छ ।



Source :  kantipur.ekantipur.com/

गत साता सेयर बजारमा तीव्र उतारचढाव, ६ अर्ब ६ करोडको सेयर कारोबार

विगतका साताहरूभन्दा यो साता सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । अघिल्ला साताहरूमा निरन्तर रूपमा बढ्ने क्रममा रहेको नेप्से गत साता सबै दिन कारोबार घटेको थियो । तर, यो साता तीव्र उतारचढावका बीच पनि नेप्सेमा मिश्रित प्रभाव देखिएको छ ।

आइतबार, मंगलबार र बुधबार बढेको बजार सोमबार र बिहीबार घटेको छ । नेप्सेमा भएको घटबढले मात्र नभएर लगानीकर्ता, धितोपत्र ब्रोकर र नेपाल धितोपत्र बोर्डको गतिविधिका कारणले पनि बजारमा तीव्र उतारचढाव आएको हो ।
गत आइतबार सामान्य अंकले घटेको नेप्से सोमबार ८८ दशमलव ८१ अंकले घट्यो । कारोबार अवधिको मध्याह्नतिर बजार ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकर मार्फत उक्त दिनको करोबार बन्द गरिएको थियो । यही बहानामा लगानीकर्ताहरूले नेप्से, बोर्ड र अर्थ मन्त्रालयमा पुगेर बजारको घटदो क्रम रोक्न हारगुहार गरे । उनीहरूकै मागबमोजिम बोर्डले कालो धन अध्ययन गर्न गठित समिति खारेज गर्‍यो । 
यसलाई लगानीकर्ताले ठूलै उपलब्धिका रूपमा लिए । परिणाम मंगलबार बजार करिब साढे ८४ अंकले बढ्यो । उक्त दिन तीन पटक सर्किट ब्रेकर लागेकाले करिब २७ मिनेट मात्र सेयर कारोबार भएको थियो । त्यस दिन नेप्से ५ प्रतिशतभन्दा धेरैले बढेपछि बजार बन्द गरिएको थियो । उक्त दिन केही ब्रोकर कम्पनीले ‘मिलोमतो’ कारोबार गरी बजार बढाउन लागिपरेको अनुमान छ । नेप्सेले बुधबार केही ब्रोकर कम्पनीलाई ‘मिलोमतो’ कारोबार बारे स्पष्टीकरण सोधेको थियो ।  
साप्ताहिक कारोबारमा सेयर बजारमा जलविद्युत्, वित्त कम्पनी र ‘अन्य’ बाहेक सबै परिसूचक सकारात्मक रहे । यो साता सेयर बजारमा दैनिक औसत ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साता दैनिक औसत १ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । साताभर नेप्सेमा ६ अर्ब ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साता ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 



५० करोड लगानीमा रिलायन्स सुपरटेक सिमेन्ट उद्योग

वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा ५० करोडभन्दा बढीको लगानीमा रिलायन्स सुपरटेक सिमेन्ट उद्योग सञ्चालनमा आएको छ। यसअघि औद्योगिक करिडोरमा बिश्वकर्मा, अम्बे, कलश, शालिमार, स्टार, ओम, आरसिएम, नारायणी, शुभश्री जगदम्बालगायतका सिमेन्ट उद्योगहरु सञ्चालनमा रहँदै आएका थिए। करिडोरअन्तर्गत बाराको गढीमाई नगरपालिकामा रिलायन्स सुपरटेक नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आएको हो।
‘५० करोड रुपैयाँभन्दा बढी लगानी गरिएको उद्योगबाट एक महिनादेखि परीक्षण उत्पादन शुरु गरेका छौं’, रिलायन्स सुपरटेक सिमेन्ट उद्योगका प्रबन्धक पुरषोक्तम शर्माले भने, ‘उद्योगबाट पिएससी र ओआरसी गरी दुई किसिमको सिमेन्टको उत्पादन शुरु गर्न लागेका छौं।’
स्वचालित प्लान्ट जडान गरिएको उद्योगमा अहिले ५० जनाले रोजगारी पाएको प्रबन्धक शर्माले बताए। उद्योगबाट उत्पादन भइरहेको पिएससी र ओआरसी गरी दुई किसिमको सिमेन्टहरु दुई ब्राण्डको रहेको शर्माले जनाएका छन्।
‘पिएससी सिमेन्ट डलब ब्राण्ड र ओआरसी सिमेन्ट ब्रोम ब्राण्डको रहेको छ’, शर्मले भने, ‘उधोगबाट उत्पादीत दुई ब्रण्डको सिमेन्टहरु सरकारले तोकेको  मापदण्ड भन्दा गुणस्तर रहेको छ।’
भारतबाट आयात गरिएको मेसिनलाई जर्मन प्रबिधिबाट उद्योगका जडान गरिएको र यसबाट दैनिक १२ हजार बोरा सिमेन्ट उत्पादन गर्ने सकिने  शर्माले बताए। अहिले उद्योग परीक्षण कालमा रहेकोले यसबाट दैनिक दैनिक दुई सय देखि पाँच सय बोरासम्म मात्रै सिमेन्ट उत्पादन गरिएको उनले बताए।
उत्पादित सिमेन्टलाई पूर्वका जिल्लाहरु र ठूला आयोजनाहरुमा बिक्री गर्ने कार्य शुरु गरिएको उद्योगका अधिकारीहरुले बताएका छन्।
केही सयमपछि मात्रै उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्ने योजना रहेको र क्लिङ्कर, स्ल्याग, जिपसन र कोइला लगायतकका कच्चा पदार्थ भण्डारण गर्न शुरु गरिएको प्रबन्धक शर्माले बताए। अन्य ठुला सिमेन्ट उद्योगका तुनामा लगानी कम भए पनि थोरै र गुणस्तरीय सिमेन्ट मात्रै उत्पादन गर्ने लक्ष्य रहेको शर्माले बताए।
‘उद्योगले नेपालमै उत्पादित क्लिङ्कर प्रयोग गर्नेे छ,’ शर्माले भने, ‘स्ल्याग, जिपसन र कोइलालाई भारतबाट आयात गरिने छ।’ उद्योेगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नको लागि विद्युत अभाव मुख्य समस्या रहेको शर्माले बताए।

धान उत्पादन बढ्ने अपेक्षा

रोपाइँका लागि अनुकूल वर्षा भएपछि यो वर्ष किसानले समयमै धान रोप्न पाएका छन्। बेलैमा रोपाइँ भएकाले यो वर्ष उत्पादन बढ्ने अपेक्षा गरिएको छ। असार पहिलो सातादेखि निरन्तर वर्षा भएकाले अहिलेसम्म करिब ९४ प्रतिशत धान रोपाइँ भइसकेको कृषि विकास मन्त्रालयले जनाएको छ।
मौसमले साथ दिएर बेलैमा धान रोप्न पाएपछि किसान पनि उत्पादन बढ्ने आसले उत्साहित छन्। अहिलेसम्म मौसम अनुकूल भएकाले धान उत्पादन बढ्ने लक्षण देखिएको छ।
गत वर्षको तुलनामा यो वर्षको साउन २५ सम्म १६ प्रतिशत बढी रोपाइँ भएको छ। २०७२ को साउन २५ सम्म करिब ७८ प्रतिशत रोपाइँ भएकोमा यो वर्षको सोही अवधिमा ९४ प्रतिशत भइसकेको छ। २०७१ को सो अवधिमा ७९ प्रतिशतमात्र रोपाइँ भएको थियो।
विगतको तुलनामा यो वर्ष अनुकूल वर्षा भएकाले रोपाइँ पनि बेलैमा भएको कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताए। …रोपाइँका लागि अनुकूल मौसम भएकाले किसानले समयमै रोपाइँ गरिसकें,' उनले भने, …९४ प्रतिशत रोपाइँ सकिएको छ, भदौ पहिलो सातासम्म सबै ठाउँमा रोपाइँ सम्पन्न हुने देखिएको छ।'
पहाडी जिल्लामा धान रोपाइँ करिब सकिएको छ। तराईका किसानले धमाधम रोपाइँ गरिरहेका छन्। मन्त्रालयका अनुसार पूर्वाञ्चलमा ८८ प्रतिशत, मध्यमाञ्चलमा ९३, पश्चिमाञ्चलमा ९८.९, मध्यपश्चिममा ९८.७, सुदुरपश्चिमाञ्चलमा ९९.८ प्रतिशत रोपाइँ भएको छ। तराईका २० जिल्लामा फल्ने धानले मुलुकमा कुल उत्पादनको ६९ प्रतिशत हिस्सा ओगट्ने गरेको छ।
धानका लागि उपयुक्त वातावरण भएकाले यो वर्ष धान उत्पादन पनि वृद्धि हुने मन्त्रालयको अनुमान छ। विगतका वर्षमा मौसम अनुकूल नहुँदा किसानले बेलैमा धान रोप्न नपाउँदा अपेक्षित उत्पादन हुन सकेको थिएन। प्रवक्ता सापकोटाले भने, …यो वर्ष बेलैमा रोपाइँ भएकाले उत्पादन र उत्पादकत्व बढ्ने देखिएको छ।'
यो वर्ष पानी अभावमा जमिन बाँझो रहनेछैन। वर्षाबाट सबैभन्दा धेरै फाइदा आकाशे पानीको भरमा खेती गर्ने किसानलाई पुगेको छ। नेपालका अधिकांश क्षेत्रमा आकाशे पानी र खहरे खोलाको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ। यो वर्ष बेलैमा वर्षा भएकाले किसानले त्यो समस्याबाट मुक्ति पाए।
अघिल्ला वर्षमा जस्तो पानी, मल अभावको गुनासो नआएको कृषि विभागका महानिर्देशक  युवकध्वज जिसीले बताए। …यो वर्ष किसान निकै उत्साहित छन्,' उनले भने, …धान उत्पादन बढ्ने संकेत देखिएको छ।'
यो वर्ष करिब ५० लाख मेटि्रक टन धान फल्ने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता सापकोटाले बताए। …मौसम राम्रो हुनासाथ उत्पादन बढ्ने गरेको छ,' उनले भने, …धान पसाउने बेला कुनै समस्या आएन भने उत्पादन बढ्ने निश्चित छ।' आर्थिक वर्ष ०७२/७३ मा ४३ लाख मेटि्रक टन र ०७१/७२ मा ४७ लाख ४ सय ८५ मेटि्रक टन धान फलेको थियो।

नारायणगढ–मुग्लिन सडक विस्तार कहिले सकिएला ?

जेठ महिनायता परेको निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेका कारण सडक विस्तार कार्य निरन्तर प्रभावित भएको छ ।
जेठको पहिलो सातादेखि नै लगातार भइरहेको भारी वर्षाले दिनैपिच्छे पहिरो झरेको छ भने छिनछिनमा जामको सकस छ। अहिले त्यहाँ मजदुरहरु सडक विस्तारभन्दा पनि खसेको पहिरो हटाउन र बाटो खुलाउन भ्याइनभ्याइ छ। 
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार साउन मसान्तसम्ममा ३१ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २३ दशमलव ५ प्रतिशतमात्रै काम भएको छ । जेठ मसान्तसम्ममा २१ दशमलव ४ प्रतिशत काम भएकामा गत दुई महिनामा २ दशमलव १ प्रतिशतमात्रै काम भएको छ।
जेठ र असारमा निरन्तर पहिरो खसे पनि साउन महिनामा भने ठूला पहिरा दुईपटक मात्रै खसेका थिए । यद्यपि सानातिना पहिरो खसिरहने, खाल्टाखुल्टी बढी भएकाले ठेकेदारले राखेका मजदुर कर्मचारीले विस्तारको कामभन्दा बढी ती काममा व्यस्त हुनुपर्दा लक्ष्यअनुरुप काम हुन नसकेको हो ।
वर्षात्का कारण कमजोर ठाउँमा भित्ता काट्न मिलेको छैन । अहिले दासढुङ्गाको मोडमा र जलवीरेमा मात्रै भित्ता कटानको काम भइरहेको खनालले बताए।वर्षात्ले काम गर्न कठिन हुने हुँदा ठेकेदार कम्पनीहरुले मजदुर कर्मचारीसमेत न्यून मात्रामा राखेका छन् ।
वर्षात्पछि लगत्तै चाडबाड आउने हुँदा छठ पर्वसम्म लक्ष्यअनुरुप काम गर्न नसकिने खनालले बताए। त्यतिबेला एकातर्फ बाटो रोकेर काम गर्न मिल्दैन भने अर्काेतर्फ मजदुर कर्मचारी बिदामा बस्ने हुँदा लक्ष्यअनुरुप काम हुन नसक्ने उहाँको भनाइ थियो । निर्माणका काम मङ्सिरदेखि वैशाखसम्म तीव्र गतिमा हुने गर्दछ ।
ठेक्का दिँदा विसं २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ ।
भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदै छ ।

Source  :   www.annapurnapost.com/

नमुना औद्योगिक ग्राम बन्दै सुर्खेतका तीन गाउँ

सुर्खेतका तीनवटा गाउँ पर्यावरणीय तथा नमुना औद्योगिक ग्रामका रूपमा विकास हुने भएका छन् । जिल्लाको पूर्वमा रहेको छिन्चुस्थित कालीदमार, वीरेन्द्रनगरस्थित नयाँ गाउँ र पश्चिम कुनाथरीमा रहेको सिरुबारीलाई नमुना औद्योगिक ग्राम बनाउन लागिएको हो ।
यी तीनवटै गाउँ अब कृषि तथा पर्यटनको केन्द्र बन्नेछन् भने हरेक गाउँमा कम्तीमा चारवटा मझौला उद्योग स्थापना हुनेछन् ।
सुर्खेत उद्योग वाणिज्य संघको पहलमा जिल्लाका तीनवटा गाउँलाई पर्यावरणीय गाउँ बनाउन लागिएको हो । त्यसका लागि जिल्ला परिषद् र नगरपरिषद्ले समेत स्वीकृति दिईसकेका छन् । वीरेन्द्रनगरस्थित थारु जातिको बाहुल्यता रहेको नयाँ गाउँलाई कृषि तथा पर्यटनको केन्द्र बनाउन लागिएको हो । गाउँमा अब होम स्टे सञ्चालनको तयारी सुरु गरिएको छ । यस्तै गाउँलाई कृषि उत्पादनको केन्द्र बनाउने र उत्पादन भएको वस्तुको बिक्री गर्ने ग्यारेन्टी सुर्खेत उद्योग वाणिज्य संघले लिएको छ ।
दुई सय ४८ घरधुरी रहेको नयाँ गाउँमा थारु जातिको बाहुल्यता छ । आफ्नो गाउँ नमुना बन्ने भएपछि थारु वस्तीमा खुसीयाली छाएको छ । स्थानीय थारु अगुवा बादुराम थारुले भने, ‘हामीसँग आफ्नै कला र संस्कृति छ, काम गर्ने जाँगर पनि छ । अब हामी गाउँमा पर्यटक भित्रयाउनेछौं, सँधै अर्काको घरमा काम गरेर कसरी घर चलाउनु ? ' उनले अब गाउँमा सबैले अर्गानिक कृषि उत्पादन गर्ने र होम स्टे सञ्चालन गर्ने योजना पनि सुनाए ।
नयाँ गाउँमा कम्तीमा चारवटा मझौला उद्योग स्थापना गरिदिने उद्योग वाणिज्य संघले जनाएको छ । उद्योग सञ्चालन भएपछि रोजगारी पाइने र पर्यटकलाई पनि भित्रयाउन पाइने भन्दै स्थानीय वासिन्दा हर्षित बनेका छन् । गाउँमा होम स्टे सञ्चालन गर्न स्थानीयलाई तालिमको व्यवस्था गर्न लागिएको छ ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले नमुना गाउँलाई पर्यावरणीय र औद्योगिक ग्रामका रूपमा विकास गर्न लागिएको बताए । ‘कालिदमारलाई अर्गानिक कृषि उत्पादनको पकेट क्षेत्र बनाउनेछौं, नयाँ गाउँ पर्यटन केन्द्र बन्नेछ', अधिकारीले भने, ‘अब गरिब भयौं भनेर पीडा सुनाएर मात्र हुँदैन, उत्पादनका लागि पनि तयार हुनुपर्छ । नमुना गाउँलाई अब हामीले आफै उत्पादन गर्न सक्षम बनाउनेछौं, उत्पादनको बजारीकरको जिम्मा पनि हामीले नै लिनेछौं ।'
नमुना तथा पर्यावरणीय गाउँ विकासका लागि जिल्ला विकास समिति र नगरपालिकाले सहयोग गर्नेछन् । गाउँमा भौत्तिक पूर्वाधारको विकास र अन्य सुविधा विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता ती कार्यालयले जनाएका छन् । जिविसले नमुना गाउँको विकासमा कुनै कसर बाँकी नराख्ने जनाएको छ । स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले भने, ‘नमुना गाउँ बनाउन हामीले पूर्वाधार विकासको काम गर्नेछौं, यसले जिल्लाको आर्थिक विकासमा समेत टेवा पुग्नेछ ।'
नयाँ गाउँमा होम स्टे सञ्चालनका लागि जिविसले सहयोग गर्ने उनको भनाइ छ । होम स्टे सञ्चालन भएमा पर्यटक भित्रिने र त्यसले थारु समुदायको आयआर्जनमासमेत वृद्धि हुने उनको विश्वास छ । जिल्ला परिषद्ले नै यो विषय पारित गरिसकेको भन्दै रेग्मीले नमुना औद्योगिक ग्राम स्थापनाका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
नमुना तथा औद्योगिक ग्राम स्थापनाका लागि सुर्खेत उद्योग वाणिज्य संघले आवश्यक तयारी अगाडि बढाएको हो । संघले त्यसका लागि ती गाउँमा स्थानीय बासिन्दासँग छलफल सुरु गरेको छ । आफ्नो गाउँ नमुना बन्ने भएपछि स्थानीयले पनि खुलेर साथ दिएका छन् ।
आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र पर्यटनको सम्भावना जिल्लामा धेरै भएकाले पनि आफूहरू नमुना गाउँ स्थापनाका लागि प्रयासरत रहेको उद्योग वाणिज्य संघले जानकारी दिएको छ । यसले स्थानीयको आयआर्जनमा वृद्धि हुने र पर्यटकलाई पनि आकर्षित गर्ने अपेक्षा संघले गरेको छ । नमुना गाउँका लागि छनोट भएका स्थानमा लगानीकर्ता पनि लगानी गर्न इच्छुक देखिएका छन् ।

Source  :   www.annapurnapost.com/ 

यस्तो हुँदैछ नेपालमा ल्याइने पाइपलाइन रुट

नेपालमा इन्धन आपूर्ति गर्न पाइपलाइन विस्तारका लागि इन्डियन आयल कर्पोरेसन (आईओसी) ले विस्तृत प्राविधिक परियोजना अध्ययन (डिटेल इन्जिनियरिङ प्रोजेक्ट स्टडी) सुरु गरेको छ । आईओसीको विशिष्ट प्राविधिक टोलीको सहयोगमा अध्ययन सुरु भएको हो ।
आईओसीका इन्जिनियर विभागतर्फका उपमहाप्रबन्धक रमेशकुमारको नेतृत्वमा प्रोजेक्ट इन्जिनियरद्वय राकेश रन्जन र राजेश परिमलसहितको टोलीले बुधबारदेखि पाइपलाइन ओछ्याइने बाटोसम्बन्धी अध्ययन गर्ने काम सुरु गरेको हो ।
भारतीय टोलीलाई नेपाल आयल निगमको इन्जिनियर विभाग, स्थानीय सशस्त्र र जनपदको प्रहरी टोल, नापी कार्यालयका विज्ञ, वीरगन्ज उपमहानगरपालिका सडक विभागका अधिकारीले समन्वय गरिरहेका छन् ।
विस्तृत प्राविधिक परियोजना अध्ययनअनुसार पाइपलाइन कसरी र कहाँबाट ओछ्याउनेसम्बन्धी बाटोको प्रारम्भिक खाका पनि तयार भएको छ । भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जको कुल ४१ किलोमिटर लम्बाइ भएको उक्त पाइप लाइनको बाटो तयार पार्न बीचमा पर्ने खोला, पुल, विद्युत्का पोल र ट्रान्सफरमर, जंगललगायतका स्थानबारे विस्तृत अध्ययन गर्ने काम सुरु गरिएको हो । अध्ययनका क्रममा प्रारम्भिक चरणको बाटो पनि तय गरिएको छ ।

निगमका प्रवक्ता भानु खनालका अनुसार भारतीय टोलीले भारतपट्टिको अहिरबा खोलादेखि अध्ययन सुरु गरेको हो । भारतको अहिरबा खोलाको पूर्वतर्फबाट नेपालको सिर्सिया खोलाको जमिनमुनिबाट वीरगन्जको शंकराचार्य गेट पश्चिततर्फ पाइपलाइन ओछ्याइनेछ । अहिरबा खोलादेखि शंकराचार्य गेटसम्मको दुरी करिब एक किलोमिटर छ । त्यसपछि शंकराचार्य गेटदेखि भन्सारको जमिनमुनिबाट हुँदै रजतजयन्ती चोकसम्म पाइपलाइन ओछ्याइनेछ ।

Source  :    www.annapurnapost.com/

'अबको पाँच वर्षमा मुटु र फोक्सो प्रत्यारोपण नेपालमै'

भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रले आफ्नो सेवा विस्तार गरेर मुटुको सस्तो र सुलभ उपचार गर्ने तयारी थालेको छ।
 
चौबीसै घन्टा सुविधा दिने थालेको यो अस्पतालमा पहिलोपटक मुटुको अप्रेसन हुन लागेको हो। यसका लागि ‘हर्ट लङ मेसिन’ नामक मेसिन ल्याइसकेको र दसैं–तिहारको बीचसम्म मुटु अप्रेसन सुरु हुने डा. प्रेम वैद्यले सेतोपाटीलाई बताए।
 
यसअघि वीर, टिचिङ र गंगालालमा पहिलोपटक मुटुको उपचार सुरु गर्दा अस्ट्रेलियन टिम आएको थियो। अब भक्तपुरमा सुरू गर्दा अमेरिकी टिम आउनेछ।
 
अस्पतालले पहिलो चरणमा युवा र प्रौढहरूको मात्र मुटु उपचार गर्नेछ। यसमा मुटुको भल्ब, नसा र मुटुको प्वालको उपचार पर्छन्। पाँच वर्षभित्र ‘ट्रान्सप्लान्ट’ गर्न मिल्ने सबै अंगको उपचार गर्ने तयारी थालेको वैद्यले बताए। ‘यही रूपमा अघि बढे भक्तपुरमै मुटु ट्रान्सप्लान्ट पनि गर्न सक्छौं,’ उनले भने।
मुटु उपचारका लागि कहलिएका गंगालाल र टिचिङ अस्पतालमा पनि नभएका उपकरण भक्तपुर अस्पतालमा भएको दाबी गर्दै वैद्यले भने, ‘हामीले ठूला अप्रेसन गर्दा रगत दिनु नपर्ने मेसिन ल्याएका छौं, अप्रेसन गर्दा खेर गएको रगत सफा गरेर फेरि बिरामीलाई नै दिन मिल्ने ‘सेल्फ सेभर’ मेसिन हामीले ल्याएका छौं, यसबाट बिरामीलाई थप रगत दिनु पर्दैन।’
 
अस्पतालले यो मेसिन अझै चलाएको भने छैन। ठूला अप्रेसन गर्दा मात्र चलाउने तयारीमा रहेको डा. वैद्यले बताए।
 
उनका अनुसार मुटु बिरामीको उपचार २ लाख रूपैयाँमै हुन्छ। त्यसमध्ये एक लाख सरकारी अनुदान पाइन्छ भने एक लाख आफूले जम्मा गरे पुग्छ। अहिलेसम्म गंगालालमा ३ लाखभन्दा बढी खर्च हुँदै आएको छ। निजी अस्पतालमा कम्तीमा ५ लाखसम्म लाग्ने गरेको डा. वैद्यले दाबी गरे।
 
‘हामीले गरिब तथा विपन्न बिरामीका लागि भनेर सस्तो र सुलभ मूल्यमा चौबीसै घन्टा सेवा दिने तयारी थालेका छौं,’ वैद्यले भने।
 
अहिले मिर्गौला उपचारका लागि दैनिक चार जनाको फिस्टुला बनाएर सेवा दिइरहेको अस्पतालले बिरामीको चाप पूरै घटाएको छ। यसअघि यहाँ महिनाको चारवटा पनि फिस्टुला बन्दैन थियो।
 
फिस्टुला बनाउने भनेको भित्रको र बाहिरको नसा जोड्ने काम हो। यो जोडेर कम्तीमा एक महिनापछि यहीँबाट ‘डाइलासिस’ गर्ने गरिन्छ।
 
मिर्गौला ‘डाइलासिस’ का लागि ‘परमानेन्ट क्याथेटर’ राख्न लागेको पनि उनले बताए। यसमा २० हजार खर्च हुन्छ। एकदेखि दुई वर्षभित्र मिर्गौला ट्रान्सप्लान्टमा जाने बिरामीका लागि यो क्याथेटर उपयुक्त हुने वैद्यले बताए। क्याथेटर अस्थायी र स्थायी हुन्छ। नेपालमा ९९ प्रतिशत अस्थायी राखिन्छ।
 
नेपालमा अस्थायी क्याथेटर राख्न ५ हजार रूपैयाँ खर्च हुन्छ। स्थायीका लागि २० हजार खर्च हुन्छ। यो डेढ दुई वर्षका लागि उपयोगी हुन्छ। अस्थायी भनेको बढीमा ३५ दिन राख्न मिल्छ। त्यसपछि फेरि बनाउनुपर्छ। अहिले सरकारी अस्पतालमा २ हजार रूपैयाँमा फिस्टुला बनाइन्छ। निजी अप्सतालमा १० हजारसम्म खर्च लाग्छ।
 
अहिले मिर्गौलाको सबै उपचार भइरहेको भक्तपुरमा मुटुपछि लिभर ट्रान्सप्लान्ट, फोक्सोको सबै उपचार गर्ने तयारी अस्पतालले गरेको छ।
 
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द श्रेष्ठ पनि मिर्गौला र मुटु रोगीको सस्तो र सुलभ मूल्यमा उपचार भइरहेको बताउँछन्।

Source :  setopati.com/

आफैं १ अर्बसम्म राखेर धरहरा बनाउने टेलिकमको प्रस्ताव

आफ्नै स्रोतबाट १ अर्बसम्म राखेर भूकम्पले भत्काएको धरहरा बनाउन नेपाल टेलिकमले सरकार समक्ष प्रस्ताव गरेको छ। धरहरा बनाउन आफू इच्छुक भएको बताउँदै टेलिकमले संस्कृति, पर्यटन तथा उड्यन मन्त्रालय र पुरातत्व विभागसमक्ष प्रस्ताव पेश गरेको टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आर्चायले सेतोपाटीलाई बताए।
‘मेरो धरहरा मै बनाउँछु’ अभियानको कोषमा जम्मा भएको रकममा थपेर टेलिकमले धरहरा निर्माण गर्ने प्रस्ताव गरेको हो।
‘हाम्रो प्रस्तावको विषयमा पुरातत्व विभाग लगायतका सम्बन्धित मन्त्रालयहरुसँग छलफल भइरहेको छ,’ उनले भने।  
आर्चायका अनुसार भूकम्प जाने वित्तिकै भत्किएका धार्मिक र पुरातत्व संरचना बनाउन टेलिकमले १ अर्बसम्म रूपैयाँ छुट्टयाएको थियो।
‘हामीले त्यही रकम प्रयोग गरेर धरहरा बनाउने प्रस्ताव गरेका हौं,’ उनले भने।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले धरहरा बनाउने टेलिकमलाई दिने विषयमा छलफल भए पनि टुंगोमा भने पुग्न नसकेको बताए। ‘हामी छलफलकै क्रममा छौ,’ उनले भने।
पुरातत्व विभागले २ सय ४५ फिट अग्लो धरहरा बनाउन डिजाइन स्वीकृत गरेको छ।
‘बाहिरबाट हेर्दा ११ तले देखिन्छ,’ महानिर्देशक दाहालले भने, ‘भित्रबाट भने यो २२ तल्ला हुन्छ।’
नजिकै रहेको टक्सार विभाग र गोश्वारा हुलाक सहितको ४२ रोपनी जग्गा समेटेर बनाइन लागेको धरहरा क्षेत्रमा पार्क, अण्डर ग्राउण्ड पार्किङ, दुई वटा लिफ्ट, म्युजियम, थिएटर र रेष्टुरेण्ट पनि रहने छ।
संस्कृति, पर्यटन तथा उड्यन मन्त्रालयले केज कन्सल्ट प्रालिमार्फत धरहराको डिजाइन सार्वजनिक गरेको थियो। २६ लाख रुपैयाँको डिजाइन अनुसार धरहरा बनाउन ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सरकारले धरहराको डिजाइन सार्वजनिक गरे पनि अहिले त्यो डिजाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ कि छैन अन्तिम अध्ययन भइरहेको महानिर्देशक दाहालले बताए।
नयाँ धरहराको संचालन तथा ब्यवस्थापन कसले गर्ने भन्ने पनि कुनै टुंगो लागिसकेको छैन।
टेलिकम आफूले लगानी गर्ने भए त्यसको सञ्चालन पनि आफैँले गर्नुपर्ने प्रस्ताव गरेको छ भने संस्कृति, पर्यटन तथा उड्यन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई सञ्चालनको जिम्मा दिनुपर्ने मत राखेको छ।
धरहरा सञ्चालनभन्दा पनि पहिला बनाउनु नै ठूलो कुरा भएको भन्दै टेलिकम र पुरातत्व विभागले त्यस विषयमा सम्बन्धित निकाय बसेर टुंगो लगाउने जनाएको छ ।
डेढ वर्ष अघि गएको भूकम्पका कारण ९ तल्ले धरहरा भत्किएको थियो।

Source  :   setopati.com/

५५१ प्रहरी सहायक निरीक्षक पदमा जागिर खुल्यो

नेपाल प्रहरीले प्रहरी सहायक निरक्षक पदमा जागिर खुलाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागले ५ सय ५१ जना सहायरक निरीक्षक माग गरेको हो ।
आज एक विज्ञापन प्रकाशित गर्दै खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्हरी परिवारतर्फ ११ जना सहायक निरीक्षकका लागि भर्ना खुलेको हो ।
दरखास्त आवदेन भदौ १२ गतेदेखि खुल्नेछ । असोज १० गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस-टु वा सो सरह उर्त्तीण गरेकाले आवदेन दिन सक्नेछन् ।
विज्ञापन हेर्नुस् 


Source  :  www.onlinekhabar.com/

माओवादीले चार राज्यमन्त्री पनि छान्यो

सत्तारुढ नेकपा माओवादी केन्द्रले पाँचमन्त्रीसँग चार राज्यमन्त्री पनि टुंगो लगाएको छ ।माओवादी उच्च स्रोतका अनुसार श्रीप्रसाद जबेगु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विक राज्यमन्त्री हुने भएका छन् ।
जबेगुलाई स्थानीय विकास, सत्यनारायण भगतलाई उर्जा, राधिका तामाङलाई कृषि र धनमाया विकलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइनेछ । यद्यपि शिक्षा कांग्रेसले लिए धनमाया स्वास्थ्य राज्यमन्त्री बन्नेछिन् ।
यसअघि आइतबार विहानै माओवादीले सरकारमा जाने पाँच नेताको नाम टुंगो लगाएको थियो ।
माओवादीबाट जनार्दन शर्मा प्रभाकर उर्जा, राम कार्की सञ्चार, हितराज पाण्डे स्थानीय विका, डिआर पौडेल शिक्षा र अजय शंकर नायक कानुन मन्त्री बन्दैछन् ।

Source  :  www.onlinekhabar.com/

Thursday, August 11, 2016

र्‌याम्पमा सृष्टिकालीन पहिरन

फेसन सो आधुनिक र ग्ल्यामरस पहिरन प्रदर्शन गर्ने माध्यममात्रै होइन, मौलिक कला संस्कृति प्रस्तुत गर्ने थलो पनि हो । ललितपुरको शोभाहिटीस्थित किरात याक्थुङ चुम्लुङ हिमको प्रेक्षालयमा शनिबार आयोजित एक फेसन सोले यो कुराको पुष्टि गरेको छ । सिसेक्पा तङ्नाम (साउने संक्रान्ति)का अवसरमा आयोजित फेसन सोमा प्रस्तुत गरिएका सृष्टिकालीन पहिरनले उपस्थित सबैको मन जित्न सफल भएको छ ।
याक्थुङ मुनचइत चोःक सयङले सिसेक्पा तङ्नाम एवं आफ्नो तेस्रो अधिवेशनका अवसरमा ‘फेसन सो' आयोजना गरेको हो । पूर्वी पहाडी क्षेत्रतिर पाइने लिम्बू समुदायको घरआँगन झल्किने स्टेजमा सृष्टिकालीन पहिरनमा मोडेलहरू निस्किँदा हल तालीले गुञ्जायमान भएको थियो ।
राजकुमार आङ्देम्बेको संयोजन तथा बबिता फोम्बोको कोरियोग्राफीमा भएको फेसन सोमा उपासना नेम्बा, रूपा आङबुहाङ, मञ्जु थेबे, निशा पोमू, सकुन केरुङ, लक्ष्मी योङहाङ, प्रदीप योङहाङ, बुद्धिसागर लिम्बू, राजकुमार आङ्देम्बेलगायतले र्‌याम्प नापेका थिए ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम मुनचइत चोःककी उपाध्यक्ष रंगकर्मी सिर्जना सुब्बाको स्वागत मन्तव्यपछि सुरु भएको थियो । सो अवसरमा याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तम थाङ्देन, चलचित्र निर्देशक नवीन सुब्बालगायतले आआफ्ना विचार राखेका थिए ।
निर्देशक सुब्बाले लिम्बू भाषामा बन्ने चलचित्रबारे प्रश्न उठाएका थिए । ‘हामी २७ जना लिम्बू चलचित्रका निर्देशक भएर पनि अहिलेसम्म लिम्बू चलचित्र बन्न सकेको छैन', उनले भने, ‘अहिले बन्दै आएका चलचित्र पूर्वीय भारतीय द्वीपका अनुसरण हुन् ।'

पहिलो नेपाली एनिमेशन चलचित्र 'शंखधरको कथा'

परम्परागत् कलाका लागि नेपाल विश्वमै उत्कृष्ट मानिन्छ र गएको दशकमा कम्प्युटर विज्ञानको शिक्षण र उपयोगितामा पनि नेपालले ठूलो फड्को मारिसकेको छ।
यी दुवै संकायको मिश्रण मानिने एनिमेशन कलाको नेपालमा पनि विकास हुन सक्यो भने देशले लिन खोजेको नयाँ मोंडमा केहि सहयोग अवश्यै पुग्नेछ। रोजगारी र व्यवसायको अवसर सिर्जना हुनुको साथसाथै नेपाली कला र संस्कृतिले पनि नयाँ युगमा प्रवेश गर्ने आशा लिनसकिन्छ।
आज भन्दा १५ वर्ष अगाडि नेपालमा एनिमेशन सम्बन्धि कुरा गर्दा धेरैले बुझ्दैनथे। त्यस ताका एनिमेशन शब्द निकै नयाँ थियो। यहाँसम्म कि इञ्जिनियरिंग परिषदमा दर्ता हुन जाने बेलामा समेत 'एनिमेटर भनेको पनि पेशा हुन्छ र?' भनेर सोध्थे। डेढ दशक अगाडि मैले एउटा ठूलो सपना देखेको थिएँ, - नेपाली भाषामा एनिमेशन चलिचत्रको निर्माण गर्ने।
जसका लागि नेपालमै बसेर ९ महिना लामो संघर्ष पनि गरें। तर एनिमेशन भनेको त्यति सजिलो विधा हैन। संसारका विभिन्न ठाउँमा छरिएर रहेका ५०० जति दक्ष प्राविधिक र कलाकारहरू मिलेर ५-६ वर्ष निरन्तर काम गरे पछि १-२ घण्टाको चलचित्र तयार हुन्छ। त्यस ताका हामीलाई यस कुराको राम्रो ज्ञान थिएन।
आज आएर नेपाली प्राविधिकहरू विश्वभर फैलिएर काम गरिरहेको अवस्था छ। गएको दुई दशकभित्र मैले नबनाए पनि एनिमेशन चलचित्र कसै न कसैले त बनाउलान् भन्ने म सोच्थें तर त्यो हुन सकेन। ठूलो योजनाका लागि लगानी र प्रविधि मात्र नभएर उत्तिकै ठूलो सपना पनि देख्नु पर्दो रहेछ भन्ने मैले बुझें।
गएको ६ वर्ष भित्र मेरो संकल्पमा आगोमा घ्यू थप्ने काम बेलायतको पासा पुच: गुथि नामको सांस्कृतिक संस्थाले गर्यो। यहाँ मैले नेपाली संस्कृति र नेपालभाषा सिक्ने मौका पाएँ। महासचीवका रूपमा गुथिको सेवा गर्ने क्रममा सत्यमोहन जोशी, कमल प्रकाश मल्ल, काशीनाथ तमोट, मानिकलाल श्रेष्ठ, गणेशराम लाछी र बालगोपाल श्रेष्ठ जस्ता नेपाली इतिहास र संस्कृतिका विद्वानहरूसँग धेरै कुरा सिक्ने मौका पाएँ। फलत:, नेपाली एनिमेशन कलाको रूपरेखा कस्तो हुनुपर्छ भन्ने बारेमा सोच्न मलाई सजिलो हुँदै गयो।

Source  :   www.annapurnapost.com/

अविश्वास हटाउन भारत र चीनमा विशेष दूत

भारत र चीनसँगको सम्बन्ध सुदृढ र सन्तुलित बनाउने उद्देश्यसाथ सरकारले दुई उपप्रधानमन्त्रीलाई विशेष दूतका रूपमा छिमेकी मुलुकमा पठाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको हो । निधि र महरालाई एक साताभित्रै भारत र चीनमा विशेष दूतका रूपमा पठाउन गृहकार्य सुरु गरिएको छ ।
अघिल्लो सरकारका पालामा भारतसँग बिग्रिएको सम्बन्ध सुधार्न र नयाँ सरकार गठन भएपछि चिनियाँहरूमा बढेको आशंका मेटाउन सरकारले उपप्रधानमन्त्री निधि र महरालाई भारत र चीन पठाउने निर्णय गरेको हो ।
नयाँ सत्ता समीकरणको औचित्यसहितको सन्देश प्रवाह गराउन र दुवै छिमेकी मुलुकमा रहेको अविश्वास र आशंका मेटाउन सरकारले दुई उपप्रधानमन्त्रीलाई छुट्टाछुट्टै मुलुकमा प्रधानमन्त्रीको विशेष दूतका रूपमा पठाउने निर्णय गरेको जानकारी कृषिमन्त्री गौरीशंकर चौधरीले दिए ।
चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सुनिश्चित गराउन, भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमण गर्ने वातावरण बनाउन, प्रधानमन्त्री दाहालको भारत भ्रमणको वातावरण तयार गर्न र दुवै मुलुकमा रहेको अविश्वास र आशंका मेटाएर सम्बन्ध सुदृढ र सुमधुर बनाउन मन्त्रिपरिषद्ले भारत र चीनमा प्रधानमन्त्री दाहालको विशेष दूतमा आफूहरूलाई पठाउने निर्णय गरेको जानकारी उपप्रधान तथा गृहमन्त्री निधिले दिए ।
निधिका अनुसार विशेष दूतका रूपमा पठाउनुअघि प्रधानमन्त्री दाहालले छुट्टै विशेष निर्देशन दिनेछन् । त्यसबारे गृहकार्य भइरहेको निधिले बताए ।
निधिले आफूहरू छिट्टै भारत र चीनमा प्रधानमन्त्रीको विशेष दूतका रूपमा जान लागेको जानकारी दिए । ‘हामी जानुभन्दा पहिला प्रधानमन्त्रीले हामीलाई बोलाएर छुट्टै निर्देशन दिनुहुनेछ', निधिले भने ।

Source  :    www.annapurnapost.com/

'प्रेमगीत'लाई १२ मनोनयन

एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा 'कबड्डी कबड्डी', 'क्लासिक', 'पशुपतिप्रसाद', 'प्रेमगीत' र 'वडा नम्बर ६'बीच प्रतिस्पर्धा हुने भएको छ। यी पाँचवटै फिल्म उत्कृष्ट फिल्म विधामा मनोनीत छन्।
उत्कृष्ट निर्देशक विधामा समेत यिनै फिल्मका निर्देशकहरु क्रमशः रामबाबु गुरुङ, दिनेश राउत, दीपेन्द्र के खनाल, सुदर्शन थापा र उज्ज्वल घिमिरे उत्कृष्ट पाँचमा परेका छन्। 'कबड्डी कबड्डी'का दयाहाङ राई, 'क्लासिक'का आर्यन सिग्देल, 'पशुपतिप्रसाद'का खगेन्द्र लामिछाने, 'प्रेमगीत'का प्रदीप खड्का र 'फन्को'का सौगात मल्लबीच उत्कृष्ट अभिनेता बन्न होडबाजी हुने भएका छन्।
नेपाल फिल्म डेभलपमेन्ट कम्पनी (एनएफडिसी)ले प्रदान गर्दै आएको यस अवार्डको मनोनयन सूची मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको थियो। उत्कृष्ट अभिनेत्रीतर्फ 'भाग सानी भाग'की केकी अधिकारी, 'रेशम फिलिली'की मेनुका प्रधान, 'क्लासिक'की नम्रता श्रेष्ठ, 'वडा नम्बर ६'की प्रियंका कार्की र 'प्रेमगीत'की पूजा शर्मालाई मनोनयन हासिल भएको छ।
लेखन विधामा 'क्लासिक'का छेतेन गुरुङ, 'पशुपतिप्रसाद'का खगेन्द्र लामिछाने, 'प्रेमगीत'का रामशरण पाठक, 'ड्रिम्स'का सामिप्यराज तिमिल्सेना र 'कबड्डी कबड्डी'का उपेन्द्र सुब्बा र रामबाबु गुरुङले प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट छायाँकारको अवार्डमा 'फूलैफूलको मौसम तिमीलाई'का मानकृष्ण महर्जन, 'ड्रिम्स'का पुरुषोत्तम प्रधान र सञ्जय लामा, 'क्लासिक' र 'प्रेमगीत'का राजेश श्रेष्ठ तथा 'कबड्डी कबड्डी'का शैलेन्द्रध्वज कार्कीको दाबेदावी परेको छ।
आगामी असोजमा हुने अवार्ड समारोहको सम्पादनतर्फ 'ड्रिम्स'का वनीष शाह र मिलन श्रेष्ठ, 'पशुपतिप्रसाद'का दीर्घ खड्का, 'कबड्डी कबड्डी'का निमेष श्रेष्ष्ठ, 'क्लासिक' र 'प्रेमगीत'का सुरेन्द्र पौडेल अन्तिम पाँचमा पर्न सफल भएका छन्।
अभिनेत्री चैत्यदेवी, साउन्ड इन्जिनियर प्रदीप उपाध्याय, छायाँकार मञ्जुकुमार श्रेष्ठ र संगीतकार शुभबहादुर सुनाम सम्मिलित निर्णायक समितिले १७ विधामा मनोनयन सूची तयार पारेको हो। मंगलबारको कार्यक्रममा मनोनीत कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरियो।

Source  :   www.nagariknews.com/