Thursday, July 14, 2016

विश्वविद्यालय खेलकुद सुरु

असार २८, २०७३- नीरविक्रम देवकोटा र जीवन आचार्यको जोडी प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदको ब्याडमिन्टनमा पुरुष डबल्सतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन् । त्रिभुवन विश्वविद्यालय (टीयू) को उक्त जोडीले पहिलो सेमिफाइनलमा पूर्वाञ्चल विश्वविद्यालयका लोचनराज न्यौपाने र डेनी खत्रीको जोडीलाई २१–३ र २१–११ को सोझो सेटमा पराजित गर्‍यो ।
महिला डबल्समा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका गंगा विष्ट र हेमा जोशीको जोडीले पूर्वाञ्चल विश्वविद्यालयका अञ्जु सुवेदी र नीता पोखरेलको जोडीलाई २१–१५ र २१–५ को सीधा सेटमा हराउँदै फाइनलमा स्थान पक्का गर्‍यो । पुरुष सिंगल्समा नीरविक्रम, जीवनसहित काठमाडौंका विश्वविद्यालय (केयू) का रिकेश श्रेष्ठ र भूपेन्द्र गिरी सेमिफाइनलमा पुगे ।
सोही स्पर्धाको महिलामा गंगालगायत कृषि तथा वन विज्ञान विश्वविद्यालयकी अस्मिता सुवेदी र सोनिया गुरुङ तथा केयूकी ज्ञानु गिरीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । भलिबलतर्फ पुरुष स्पर्धामा टीयू र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विजयी सुरुआत गरेका छन् । टीयूले सुदूरपश्चिमाञ्चललाई २६–२४, २५–१३, १८–२५, १९–२५ र १८–१६ को सेटमा पराजित गर्‍यो ।
मध्यपश्चिमाञ्चलले केयूलाई २५–२३, २५–१९ र २५–२३ को सोझो सेटमा हरायो । बास्केटबलतर्फ पुरुषमा केयू र टीयूले सफलता हात पारे । त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहलमा केयूले कृषिलाई ७०–२५ तथा टीयूले पूर्वाञ्चललाई ५०–३५ ले निराश पारे ।
यस्तै टेबलटेनिसको पुरुष सिंगल्समा केयूका अविन प्रजापति, कृषिका अनिश शाक्य, पूर्वाञ्चलका प्रवेश न्यौपाने तथा केयूका सुजन पन्तले सेमिफाइनल यात्रा तय गरे । उक्त स्पर्धाको महिलामा केयूकी दीपिका श्रेष्ठ, सुदूरपश्चिमाञ्चलकी देवकी भट्ट, केयूकी रेज्सा कोटेजा तथा कृषिकी निशा श्रेष्ठ सेमिफाइनलमा पुगे ।


Source :  kantipur.ekantipur.com/

सचिन तेन्दुलकरले नेपाली टोलीलाई भने, ‘अल द वेस्ट’

असार २९, २०७३- विश्व क्रिकेटका हस्ती सचिन तेन्दुलकरले नेपाली क्रिकेटलाई राम्रो खेल्न शुभकामना दिएका छन् । इङ्ल्यान्ड भ्रमणका रहेको नेपाली टोलीसँगको अकस्मातको जम्काभेटमा भारतका पूर्व ब्याट्सम्यान तेन्दुलकरबाट अमुल्य आशिष पाएको हो ।
टेस्ट र एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाएका तेन्दुलकर खेलकुद सामाग्री संस्था स्पार्टनका ब्रान्ड एम्बासडर हुन् । यसमा अनुबन्धित हुनेमा विश्व क्रिकेटरका हस्तीहरु माइकल क्लार्क, क्रिस गेयल, मिचेल जोनसन जस्ता पूर्व र वर्तमान खेलाडीहरु छन् । तेन्दुलकर यही आफ्नो ब्रान्डको प्रवद्र्धनका लागि लन्डनमा छन् ।
स्पार्टनको नया प्रडक्ट लन्चका क्रममा सचिन र नेपाली टोली भेट भएको हो । नेपाली क्रिकेटलाई लन्डनमा व्यवस्थापन गरिरहेका प्रमोटर प्रशान्त कुँवर र कप्तान पारस खड्काले तेन्दुलकरसँग सेन्ट पलमा भेटेका थिए । प्रशान्त र पारसले तेन्दुलकरलाई नेपालको जर्सी प्रदान गरेका थिए । प्रशान्त त्यही व्यक्ति हुन् जसले इङ्ल्यान्ड भ्रमणमा आउँदा विश्व क्रिकेटका हस्ती स्टिभ वाग र भारतीय अभिनेत्री प्रियङ्का चोपरालाई नेपाली क्रिकेटको जर्सी प्रदान गरेका थिए ।
प्रशान्त र पारसले तेन्दुलकरलाई नेपाल आउन निम्ता पनि दिएका थिए । त्यसलाई उनले सकरात्मक रुपमा लिएको प्रशान्तले जनाए । ‘सचिनजस्तो हस्तीलाई हत्तपत्त भेट्न पाइन्दैन् । उनीसँग हाम्रो छोटो भेट भएको थियो,’ पारसले भने, ‘हामीले तेन्दुलकरलाई नेपाली क्रिकेटको बारेमा बतायौं । उनले नेपाललाई अल द वेस्ट र राम्रो खेल्नु भने ।’
प्रशान्तका अनुसार तेन्दुलकरलाई नेपाली टोलीले एसोसिएट राष्ट्रका बारेमा आवाज उठाईदिन अनुरोध गरेका थिए । त्यसमा तेन्दुकलरले आफुले यसअघि पनि क्रिकेट विश्व व्यापी हुनु पर्ने भनेर आवाज उठाइरहेको र अझ पनि एसोसिएटको बारेमा बोलिरहने वाचा गरेका थिए ।
स्पार्टनको मालिक कुनाल शर्मासँग पनि प्रशान्त र पारसले नेपाली क्रिकेटलाई लिएर छलफल गरेका थिए ।

Source :  kantipur.ekantipur.com/

चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय प्रति वातावरण समितिको आपत्ति !


असार ३०, २०७३- व्यवस्थापीका संसदको वातावरण संरक्षण समितिले चीनलाई दुई जोडी गैंडा दिने सरकारको निर्णयप्रति असहमति जनाएको छ । 

समितिका सभापति जनकराज चौधरीले वन, वन्यजन्तु र वातावरणका मुद्दामा समितिसँग बहसै नगरी सुटुक्क दुई जोडी गैंडा दिएको भन्दै त्यसबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र वन मन्त्रालयसँग स्पष्टीकरण माग्न लागेको बताए ।

‘उहाँहरुलाई बोलाएर यसबारे छलफल पनि गर्छौं’, चौधरीले कान्तिपुरलाई भने, ‘सम्वद्ध निकाय र विशेषज्ञहरुसँग छलफलै नगरी एक्कासी निर्णय गर्नु गलत हो ।’ आइतबारको मन्त्रीपरिषद्ले चीन सरकारलाई दुई जोडी वयस्क गैंडा उपहार दिने निर्णय गरेको थियो ।

सभापति चौधरीले मन्त्रीपरिषद्ले निर्णय गरे पनि त्यो नै अन्तिम निर्णय हुन नसक्ने भन्दै सरोकारवाला निकायलाई समितिमा बोलाउने तयारी भईरहेको पनि बताए । 

निर्णय लगत्तै निवर्तमान वनमन्त्री अग्निप्रसाद सापकोटासँग गैंडासम्वन्धि निर्णयबारे जिज्ञासा राख्दा उनले आफू एक दुई दिनको मात्र मन्त्री भएकाले विरोध नगर्न आग्रह गरेकोसमेत चौधरीले उल्लेख गरे । 

यस्तै, समिति अन्तर्गततको वन तथा वन्यजन्तु उपसमितिका संयोजक राजाराम स्याङ्तानले चीनलाई गैंडा दिन हतार गरिएकामा आपत्ति जनाए । उनले यसबारे विस्तृत छलफल गरेर मात्रै प्रक्रिया अघि बढाउनुपर्ने तर्कसमेत गरे ।


Source :  kantipur.ekantipur.com/

‘सरकार फेरिए पनि माग पूरा नभएसम्म अनशन’

असार ३०, २०७३- प्रा.डा. गोविन्द केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोगसँगै चिकित्सा शिक्षा र सेवामा सुधारसम्बन्धी आफ्ना चारै वटा माग अक्षरश: पूरा नभएसम्म अनशन जारी रहने बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा चार दिनदेखि अनशनरत केसीले बुधबार कान्तिपुरसँगको कुराकानीमा फेरबदल हुन लागेको सरकारका कारण आफ्नो माग र आन्दोलन प्रभावित नहुने अडान व्यक्त गरेका हुन् ।
‘कोही कुर्सी छोड्नै नसक्ने, कसैलाई जसरी पनि सरकार ढालेर सत्तामा पुग्नै पर्ने होड छ,’ डा. केसीले भने, ‘म सरकार ढाल्न वा कुनै सरकार ल्याउन अनशन बसेको होइन । जल्दोबल्दो देशको समस्या र चुनौतीलाई केही नगर्ने, समाधानतिर नलाग्ने, तर सरकार ढाल्ने र सरकार बनाउनेतिर नेताहरू लागेका छन् ।’
‘यदि अलिकति पनि लोकतान्त्रिक, जनताप्रति समर्पित दायित्व बोध छ भने माग पूरा हुनुपर्छ,’ सत्ता समीकरणमा अल्झेका नेताहरूप्रति आफूलाई विश्वास नरहेको उल्लेख गर्दै उनले भने, ‘लोकमानसिंहले आफू संंंविधानभन्दा माथि रहेर काम गर्दैछन्, सन्त्रास फेलाउँदै छन्, अधिकार क्षेत्र बाहिर गएर अधिकार दुरुपयोग गरेका छन् । उनलाई महाअभियोग लगाएर हटाउनुपर्छ ।’ अख्तियारले मुलुकका सबै क्षेत्रमा ठूलो भ्रष्टाचारी व्यक्ति, नेता, पदाधिकारी, व्यापारीलाई कहिले पनि नसमातेको उल्लेख गर्दै डा. केसीले भने, ‘निर्दोष र साना कर्मचारीलाई समातेर मैले यो गरें, त्यो गरें भनेर अख्तियारले प्रचार गर्छ तर ठूला–ठूला भ्रष्टाचारीलाई समात्दैन, उनीहरूसँग लेनदेन गर्छ ।’
आठौं पटकको अनशनमा महाअभियोग लगाउने माग राखेपछि अख्तियार प्रमुखको निर्देशनमा शिक्षण अस्पतालका पदाधिकारी, विद्यार्थी, कर्मचारी, नर्स सबैलाई सहयोग गरे कारबाही गर्ने त्रास फैलाइएको आरोप लगाउँदै डा. केसीले भने, ‘अहिले केही पदाधिकारी आफ्नो ब्रहम नभएर सन्त्रास, कारबाहीमा फसाउने शंकाले अनशनलाई नसघाउने निर्देशन पालना गर्दैछन् । यस्तो प्राज्ञिक ठाउँमा लोकमानतन्त्र हावी छ भने अरू ठाउँमा के होला ?’
रेजिडेन्ट चिकित्सक पनि विरोधमा
त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकले डा. केसीको आन्दोलनको समर्थनमा चरणबद्घ आन्दोलनअन्तर्गत बुधबार कालोपट्टी बाँधेर काम गरेका छन् । उनीहरूले बिहीबारदेखि पठनपाठनको काममा समेत सहभागी नहुने जनाएका छन् । हाल डा. केसीको स्वास्थ्य स्थिति बिग्रँदै जाँदासमेत सम्बन्धित निकायबाट उचित निकास नदिएपछि चरणबद्घ आन्दोलन गर्न बाध्य भएको उनीहरूले बताएका छन् । प्रा.डा. गोविन्द केसीको आमरण अनशनको चौथो दिन रेजिडेन्ट चिकित्सकहरू देखिने गरी नै विरोध प्रदर्शनमा आएका हुन् । उनीहरूले पठनपाठनबाहेक इमर्जेन्सी, वार्ड, शल्यक्रिया कक्ष, बहिरंग र अन्तरंग सेवामा भने सहभागी हुनेछन् ।

सुशासन महाअभियानको ऐक्यबद्घता
प्रा. केसीको अनशनमा सुशासन महाअभियानले ऐक्यबद्धता जनाएको छ । अभियानको केन्द्रीय समितिका पदाधिकारीहरूले अनशनस्थलमा केसीलाई भेटी उनको मागमा समर्थन जनाएका हुन् । ‘मुलुकमा सुशासनको माग राखी डाक्टर केसीले सुरु गरेको सत्याग्रहमा हाम्रो समर्थन छ, हामी पनि माग पूरा गराउन शान्तिपूर्ण अभियान सुरु गर्नेछौं,’ अभियानका संयोजक प्रकाश विकल्पले भने, ‘केसीले उठाएका कतिपय माग महाअभियानले उठाएका मागसँग मिल्दोजुल्दो भएकाले पनि हामीलाई उत्साहित बनाएको छ ।’ केसीको मागबारे विभिन्न प्रादेशिक समितिमार्फत सचेतना अभियान सञ्चालन गर्ने संयोजक विकल्पले बताए ।

Source :  kantipur.ekantipur.com/

आफ्नो हित छाडेर छिमेकीसँग मित्रता हुँदैन : प्रधानमन्त्री

असार ३०, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीसँगको मित्रताको नाममा राष्ट्रिय सुरक्षा कमजोर पार्न नसकिने धारणा राखेका छन् । ‘राष्ट्रिय सुरक्षाअन्तर्गत छिमेकीसँगको सम्बन्ध पनि पर्छ’, उनले भने,‘मित्रताको नाममा राष्ट्रियता कमजोर पार्न सकिन्न ।’
रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको आयोजनामा राजधानीमा जारी राष्ट्रिय सुरक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले भने,‘हामी कसैका विरुद्ध सोच्दैनौं, कसैका विरुद्ध बोलेका पनि छैनौं । मुलुकलाई कसैको विरुद्ध प्रयोग हुन दिन्नौं ।’
मन्त्रिपरिषद्को बैशाख ३० गतेको बैठकद्वारा राष्ट्रिय सुरक्षा नीतिबारे बोल्दै प्रधानमन्त्री ओलीले सुरक्षा नीति कार्यान्वयनको लागि सबै दलको सहमति हुनुपर्ने धारणा राखे । ‘सबैको सहमति नभए कार्यान्वयन गर्न सकिन्न’, उनले भने ।
गोष्ठीमा बोलाइए पनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल उपस्थित भएनन् । दुई नेताको अनुपस्थितिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा नीति पार्टी र व्यक्तिको नभई सबैको साझा भएको टिप्पणी गरे ।
‘प्रतिस्पर्धा भनेको भिन्न कुरामा हुनुपर्छ’, उनले भने,‘राष्ट्रिय सुरक्षामा मतभेद हुन्न ।’
तराई आन्दोलनप्रति लक्षित गर्दै उनले संविधानले कसैलाई विभेद नगरेको दाबी गरे । ‘राजनीतिक हिसाबमा विभिन्न मागहरु आउँछन्’, उनले भने,‘कुन माग केका लागि पूरा गर्ने हो ?’
उनले संविधानमा पुर्नलेखन भन्ने प्रावधान नभएकाले संशोधन गर्न मात्र सकिने बताए ।
उनले तराई केन्द्रित दलको माग बमोजिम प्रादेशिक सीमांकन गर्न सरकार तयार भएको बताए । ‘प्रादेशिक सीमांकन गर्ने हामीले पनि भनेका छौं’, उनले भने,‘औचित्यको आधारमा हुनुपर्‍यो ।’
‘वार्ताको माध्यमबाट सहमति गर्न नसकिने कुनै कुरा छैन । सहमतिमा पुगन नचाहेपछि सहमतिमा पुग्न सकिन्न ।’
उनले राष्ट्रिय सुरक्षामा समान धारणा बनाउन दलहरुलाई आग्रह गरेका छन् ।
‘हाम्रो देश विविधतापूर्ण छ’, उनले भने,‘यस्तो अवस्थामा जात जातका कुरा र साम्प्रदायिकताको कुरा आइरहेको छ ।’
‘म कहिलेकाही फेसबुक हेर्छु, त्यहाँ पनि स्राम्पदायिकता देख्छु ।’
‘साम्प्रदायिकता एकातिर छ, अर्को सकीर्ण छ संकीर्ण क्षेत्रियतावाद । यसले भित्रभित्रैबाट विविधतालाई कमजोर बनाएर राष्ट्रिय एकता कमजोर गर्छ ।’
उनले राष्ट्रिय सुरक्षाको लागि आतंकवाद अर्को चुनौति भएको बताए ।
सरकारको परराष्ट्र नीति कमजोर भयो भन्ने आरोपबारे बोल्दै प्रधानमन्त्री ओलीले उत्तरी छिमेकीसँग पारवहन सम्धी गरेको बताए ।
‘म सरकारमा आउँदा सुरक्षाकर्मीसहित ४७ जना मारिएका थिए । नाकाबन्दी खुल्यो । बिशाखापटनम बन्दरगाह खुल्यो’, उनले भने,‘दुवै छिमेकीसँग पारवहन सन्धी गर्न पाउनु हाम्रो अधिकार हो, त्यसैअनुसार गरेका छौं ।’
सरकार परिवर्तनको बिषयमा बोल्दै उनले व्यक्तिगत स्वार्थको लागि सरकार परिवर्तन हुनु राम्रो नभएको टिप्पणी गरे । ‘कुनै पार्टी सरकारबाट बाहिरिने वित्तिकै भोज खाएर उफ्रिने गर्छन्’, उनले भने,‘यसले पनि चित्र स्पष्ट पार्छ ।’
कार्यक्रममा बोल्दै रक्षामन्त्री भीम रावलले माओवादी केन्द्र अध्यक्ष दाहाल र कांग्रेस सभापति देउवालाई घरमै गएर भेटेर निम्ता गरेपनि अनुपस्थित भएको बताए ।
सरकार परिवर्तनको बिषयमा बोल्दै उनले संविधानअनुसार सरकार परिवर्तन हुने बताए ।
गोष्ठीमा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्द, एमाले नेता माधवकुमार नेपाललगायतको उपस्थिति थियो ।


Source :  kantipur.ekantipur.com/