एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा 'कबड्डी कबड्डी', 'क्लासिक', 'पशुपतिप्रसाद', 'प्रेमगीत' र 'वडा नम्बर ६'बीच प्रतिस्पर्धा हुने भएको छ। यी पाँचवटै फिल्म उत्कृष्ट फिल्म विधामा मनोनीत छन्।
उत्कृष्ट निर्देशक विधामा समेत यिनै फिल्मका निर्देशकहरु क्रमशः रामबाबु गुरुङ, दिनेश राउत, दीपेन्द्र के खनाल, सुदर्शन थापा र उज्ज्वल घिमिरे उत्कृष्ट पाँचमा परेका छन्। 'कबड्डी कबड्डी'का दयाहाङ राई, 'क्लासिक'का आर्यन सिग्देल, 'पशुपतिप्रसाद'का खगेन्द्र लामिछाने, 'प्रेमगीत'का प्रदीप खड्का र 'फन्को'का सौगात मल्लबीच उत्कृष्ट अभिनेता बन्न होडबाजी हुने भएका छन्।
नेपाल फिल्म डेभलपमेन्ट कम्पनी (एनएफडिसी)ले प्रदान गर्दै आएको यस अवार्डको मनोनयन सूची मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको थियो। उत्कृष्ट अभिनेत्रीतर्फ 'भाग सानी भाग'की केकी अधिकारी, 'रेशम फिलिली'की मेनुका प्रधान, 'क्लासिक'की नम्रता श्रेष्ठ, 'वडा नम्बर ६'की प्रियंका कार्की र 'प्रेमगीत'की पूजा शर्मालाई मनोनयन हासिल भएको छ।
लेखन विधामा 'क्लासिक'का छेतेन गुरुङ, 'पशुपतिप्रसाद'का खगेन्द्र लामिछाने, 'प्रेमगीत'का रामशरण पाठक, 'ड्रिम्स'का सामिप्यराज तिमिल्सेना र 'कबड्डी कबड्डी'का उपेन्द्र सुब्बा र रामबाबु गुरुङले प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट छायाँकारको अवार्डमा 'फूलैफूलको मौसम तिमीलाई'का मानकृष्ण महर्जन, 'ड्रिम्स'का पुरुषोत्तम प्रधान र सञ्जय लामा, 'क्लासिक' र 'प्रेमगीत'का राजेश श्रेष्ठ तथा 'कबड्डी कबड्डी'का शैलेन्द्रध्वज कार्कीको दाबेदावी परेको छ।
आगामी असोजमा हुने अवार्ड समारोहको सम्पादनतर्फ 'ड्रिम्स'का वनीष शाह र मिलन श्रेष्ठ, 'पशुपतिप्रसाद'का दीर्घ खड्का, 'कबड्डी कबड्डी'का निमेष श्रेष्ष्ठ, 'क्लासिक' र 'प्रेमगीत'का सुरेन्द्र पौडेल अन्तिम पाँचमा पर्न सफल भएका छन्।
अभिनेत्री चैत्यदेवी, साउन्ड इन्जिनियर प्रदीप उपाध्याय, छायाँकार मञ्जुकुमार श्रेष्ठ र संगीतकार शुभबहादुर सुनाम सम्मिलित निर्णायक समितिले १७ विधामा मनोनयन सूची तयार पारेको हो। मंगलबारको कार्यक्रममा मनोनीत कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरियो।
Source : www.nagariknews.com/

No comments:
Post a Comment