Thursday, August 11, 2016

विद्युत् उत्पादन कम्पनी छिट्टै

सरकारी तथा सर्वसाधारणको लगानीमा जलविद्युत् आयोजना निर्माण गर्न एक/डेढ साताभित्रै सरकारले छुट्टै पब्लिक कम्पनी स्थापना गर्ने भएको छ ।
जलविद्युत् आयोजना निर्माणमा जनस्तरबाट ठूलो लगानी जुटाउने वातावरण बनाउन उक्त कम्पनीमा सर्वसाधारणको सेयर ३० प्रतिशत राखिने जानकारी ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्थले दिए । जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माण तथा बिजुली वितरणसम्बन्धी तीन वटा दायित्व भएको विद्युत् प्राधिकरणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै सरकारले ऊर्जा मन्त्रालयको प्रस्तावमा विद्युत् आयोजना मात्र निर्माण गर्ने ‘विद्युत् उत्पादन (जेनेरेसन) कम्पनी’ स्थापना गर्न लागेको हो ।
ऊर्जा मन्त्रालयका सचिव सुमन शर्माका अनुसार कम्पनीले विद्युत् आयोजनाको अध्ययन र निर्माणको काम मात्र गर्ने छ । विद्युत् आयोजना निर्माण गर्ने एक मात्र दायित्व हुने छुट्टै नयाँ पब्लिक कम्पनी खोल्ने प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिइसकेको जानकारी दिए । ‘ऊर्जामन्त्री नियुक्त भएर आउनासाथ कम्पनी स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लाने निर्णय ऊर्जा मन्त्रालयले गर्ने छ,’ सचिव शर्माले कान्तिपुरसित भने, ‘मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि ऊर्जा मन्त्रालयको मातहतमा ‘विद्युत् उत्पादन कम्पनी’ स्थापना गरिने छ ।’
‘ऊर्जा मन्त्रालय प्राधिकरणलाई तीन वटै दायित्व उत्पादन (आयोजना निर्माण), प्रसारण लाइन निर्माण र वितरणको जिम्मा दिँदा काम प्रभावकारी हुन नसकेको निष्कर्षमा धेरै पहिल्यै पुगेको हो । विद्युत् आयोजना निर्माणको कामलाई प्रभावकारी बनाउन त्यही एउटा उद्देश्य मात्र राखी छुट्टै पब्लिक कम्पनी खोल्न लागिएको हो,’ ऊर्जा अर्का अधिकारीले कान्तिपुरसित भने ।


Source  :  kantipur.ekantipur.com/

No comments:

Post a Comment