Wednesday, August 3, 2016

प्रधानमन्त्रीज्यू, सक्ने भए महंगी नियन्त्रण गरेर देखाउनुहोस्

प्रधानमन्त्री निर्वाचित हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी संलग्न भएर ल्याएको चालु आर्थिक वर्षको बजेटबारे निकै घतलाग्दो टिप्पणी गरे । त्यसको केहीबेरमै उनी मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भए ।
प्रचण्डले निवर्तमान प्रधानमन्त्री केपी ओलीले अविश्वासको प्रस्तावमा जवाफ दिँदा उठाएका बजेटसम्बन्धी केही प्रश्नहरुको जवाफ फर्काउने कोशिस गरेका थिए । एमालेवृत्तले लोकपि्रय दाबी गर्दै आएको बजेटलाई प्रचण्डले कार्यान्वयन हुन नसक्ने र हावादारी बजेट भएको टिप्पणी गरे ।
खासगरी प्रचण्डले बजेट अत्यन्तै वितरणमुखी भएको बताउँदै यो बजेटले मुलुकमा विकास निर्माण गर्न कठिन भएको प्रष्ट पारे ।प्रचण्डको यो अभिव्यक्ति केपी ओलीमाथिको पूर्वाग्रहयुक्त टिप्पणीमात्रै होइन, यसभित्र ठूलो मर्म लुकेको छ । प्रधानमन्त्रीको पद सम्हाल्ने निश्चित भएपछि बजेटप्रति प्रचण्डले दिएको अभिव्यक्तिले उनको आगामी चुनौति के हो भन्ने प्रष्ट संकेत गर्छ ।
आर्थिक वृद्धि जनताको आम्दानी हो भने मुल्यवृद्धि खर्च हो । जनताको खर्चभन्दा आम्दानी बढी बनाउनु प्रचण्डका लागि चानचुने चुनौति होइन । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा आर्थिक वर्ष ०६५/०६६ मा न्यूनतम आर्थिक वृद्धि र उच्चतम मुल्यवृद्धि भएको थियो । र, अहिले फेरि सूचकांहरु हेर्दा न्यूनतम आर्थिक वृद्धि र नियन्त्रण बाहिरको मुल्यवृद्धि हुने देखिन्छ । यसैको चिन्ताले प्रचण्डले बजेटको टिप्पणी गरेका हुन् ।
तत्कालीन प्रचण्डको सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष ०६५/०६६ मा ७ प्रतिशतको आर्थिक वृद्धि र १३ प्रतिशतको मूल्यवृद्धिको लक्ष्य राखे । तर, सो वर्ष आर्थिक वृद्धि व्यापकरुपमा खुम्चिएर ३.९ प्रतिशतमात्रै प्राप्त भयो भने मूल्यवृद्धि लक्ष्यभन्दा धेरै अर्थात् १३.२ प्रतिशत पुग्यो । आर्थिक वर्ष ०६५/०६६ को मुल्यवृद्धि २२ वर्षयताकै उच्च थियो ।
भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीको चरम चापमा परेको अर्थतन्त्र गत आर्थिक वर्ष ०७२/०७३ मा ०.७७ प्रतिशतले मात्रै बढ्यो । तर, मूल्यवृद्धिले भने ११ प्रतिशत छोयो ।
यो पृष्ठभूमि भएको अर्थतन्त्रलाई सन्तुलतमा ल्याउनु प्रचण्डका लागि फलामको च्यूरा चपाएसरह हुनेछ । किनभने प्रचण्डलाई थाहा छ कि, माओवादी पनि संलग्न भएको केपी ओली सरकारले गत जेठ १५ गते नै मुल्य बढाउनेखालको बजेट ल्याइसकेको छ । आर्थिक वृद्धि ६.५ प्रतिशत र मुल्यवृद्धि ७.५ प्रतिशतको लक्ष्य राखेर सरकारले १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याइसकेको छ । सरकारको बजेट राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा डेढ खर्ब रुपैयाँले बढी हो ।
तर, यो वर्ष आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा माथि जाने संकेत देखिँदैन भने मुल्यवृद्धि दोहोरो अंकभन्दा तल झर्ने संभावना नै छैन ।
बजेटको आकार बढेपछि त्यसले बजारमा पैसाको प्रवाहलाई बढाउने र पैसाको प्रवाह बढेपछि त्यसले महंगी बढाउने अर्थशास्त्रीय नियम नै हो । त्यसैले, आफै संलग्न भएको सरकारले ल्याएको बजेटको शिकार प्रचण्ड आफैं बन्ने निश्चित छ
सरकारले बजेटको आकार बढाएर विकास निर्माणमा खर्च गर्ने उद्देश्य राखेको भएपनि उच्चतम आर्थिक वृद्धि प्राप्त हुन्थ्यो । र, जनताले महंगी बढे पनि त्यसलाई स्वीकार गर्थे । तर, ओली सरकारले खर्बभन्दा बढी रकम वितरणमा खर्च गर्न बजेटको आकार थपेको छ । वितरणमुखी बजेटले आर्थिक वृद्धिमा कुनैपनि योगदान पुर्‍याउँदैन, यसले त महंगी बढाउनमा ठूलो भूमिका खेल्छ ।
ओली सरकारले वृद्धभत्ता दोब्बरले बढाएको छ भने सरकारी कर्मचारीको तलब २५ प्रतिशतले बढाएको छ । कर्मचारीको तलब बढेपछि त्यसको प्रभावस्वरुप घरबेटीले घरभाडा बढाउँछन्, सब्जी बेच्नेले भाउ बढाउँछन् । ज-जसले निहुँ पारेर भाउ बढाउन सक्छन्, उनीहरुले बढाउँछन् । तर, त्यसको मार भने आम्दानी बढाउन नसकेका गरिब तथा मजदुरलाई पर्छ । प्रचण्ड गरिब तथा मजदुर वर्गको नेतृत्व गर्छु भन्ने नेता र पार्टीको अध्यक्ष हुन् । उनका लागि महंगी नियन्त्रण गरी जनतालाई राहतको महशुस गराउनु सबैभन्दा ठूलो चुनौति हो ।
अर्कोतर्फ प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएकै दिन नेप्से सूचकमा रातो रंगले पोतियो । यो दिन नेप्से दोहोरो अंक अर्थात् १२.७५ अंकले घटेर १८१३.७२ अंकमा झरेको छ । सामान्यतया नयाँ सरकार गठन भएको दिन पुँजी बजारको सूचक नेप्से इन्डेक्स बढ्ने गरेको इतिहाँस छ । तर सेयर बजारका लगानीकर्ताहरुले अझै प्रचण्डलाई विश्वास गर्न नसकेको पहिलो दिनको सूचकांकका आधारमा विश्लेषण गर्न सकिन्छ ।
प्रचण्ड सत्तामा जाँदा पहिलोपटक नेप्से सूचक घटेको भने होइन । यसअघि ०६५ साल भदौमा पहिलोपटक प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुँदा पनि नेप्से सूचक यसरी नै घटेको थियो । तर, त्यो बेला र अहिलेको बेला भने फरक छ । त्यो बेला प्रचण्ड सबैभन्दा ठूलो पार्टीको अध्यक्ष थिए । उनी निजी सम्पत्ति रााष्ट्रियकरण गर्नुपर्छ भन्ने मान्यता राख्थे । तर, अहिले प्रचण्ड आर्थिक उदारीकरणमै विश्वास राख्छन् र उनी तेस्रो पार्टीका अध्यक्ष हुन् । सेयर बजार अर्थतन्त्रको सूचक हो ।
समग्र आर्थिक सूचकांकहरुको सन्तुलनम मिलाउँदै महंगीको मारबाट जनतालाई राहतको महशुस गराउनुमात्रै प्रचण्डको चुनौति होइन । ओलीले गरेको विकासको भाषणलाई बिर्सने गरे विकासाक यर्काहरुलाई गति दिनु त्यो भन्दा चुनौतिपूर्ण छ । किनभने १० खर्ब ४८ अर्ब रुपैयाँको बजेटमध्ये ६ खर्ब ६६ अर्ब साधाारण खर्च र ३ खर्ब ११ अर्ब विकास खर्चका लागि विनियोजन गरिएको छ । विकासका लागि छुट्याइएको त्यो बजेट अत्यन्तै कम हो, तर प्रभावकारीरुपमा विकास बजेट खर्च हुन नसक्ने प्रवृत्तिले नयाँ प्रधानमन्त्री प्रचण्डलाई अझ बढी पिरोल्ने निश्चत छ ।

Source  :  www.onlinekhabar.com/

No comments:

Post a Comment