प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा आज चीनतर्फ प्रस्थान गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमण लगायत नेपाल–चीन द्विपक्षीय सम्बन्ध विकासका लागि उपप्रधानमन्त्री महरालाई सरकारले चीन पठाउने निर्णय गरेको हो । महरा परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याललाई साथै लिएर आज बिहान चीन प्रस्थान गर्नुभएको हो । चीन प्रस्थान गर्नु पहिले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग छोटो कुरा गर्दै मन्त्री महराले चिनीयाँ नेतृत्वलाई नेपाल भ्रमणको निम्ता दिनु, नेपालको आर्थिक विकासमा सहयोगको आग्रह गर्नु तथा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउनु आफ्नो भ्रमणको उद्देष्य भएको बताउनुभयो ।
छेन्दु हुँदै चीनको बेइजिङ पुगेपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले चीनको उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । उहाँ भदौ ३ गते स्वदेश फर्किने कार्यक्रम छ । चीन बसाईका क्रममा उपप्रधानमन्त्री महराले नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणमा केन्द्रीत रहेर सम्बद्ध उच्च अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सिलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणापत्र विशेष दूत महराले चीन सरकारलाई हस्तान्तरण गर्ने छन् । त्यसैगरि प्रधानमन्त्री दाहालले चीनका प्रधानमन्त्री ली खछचाङलाई नेपाल भ्रमण गर्न संप्रेषण गरेको आमन्त्रणपत्र पनि उपप्रधानमन्त्री महराले सम्बद्ध चिनियाँ अधिकारीहरुलाई हस्तान्तरण गर्ने हुनु भएको छ ।
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने विश्वसनीय वातावरण तयार पार्नु तथा चिनियाँ पक्षलाई सम्पूर्णरुपमा आश्वस्त तुल्याउनु उपप्रधानमन्त्री महराको चीन भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ । मन्त्रिपरिषदको गत बिहिबार बसेको बैठकले महरालाई चीन र उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको थियो ।
Source : www.janapukar.com/

No comments:
Post a Comment