असार २८, २०७३- नीरविक्रम देवकोटा र जीवन आचार्यको जोडी प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदको ब्याडमिन्टनमा पुरुष डबल्सतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन् । त्रिभुवन विश्वविद्यालय (टीयू) को उक्त जोडीले पहिलो सेमिफाइनलमा पूर्वाञ्चल विश्वविद्यालयका लोचनराज न्यौपाने र डेनी खत्रीको जोडीलाई २१–३ र २१–११ को सोझो सेटमा पराजित गर्यो ।
महिला डबल्समा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका गंगा विष्ट र हेमा जोशीको जोडीले पूर्वाञ्चल विश्वविद्यालयका अञ्जु सुवेदी र नीता पोखरेलको जोडीलाई २१–१५ र २१–५ को सीधा सेटमा हराउँदै फाइनलमा स्थान पक्का गर्यो । पुरुष सिंगल्समा नीरविक्रम, जीवनसहित काठमाडौंका विश्वविद्यालय (केयू) का रिकेश श्रेष्ठ र भूपेन्द्र गिरी सेमिफाइनलमा पुगे ।
सोही स्पर्धाको महिलामा गंगालगायत कृषि तथा वन विज्ञान विश्वविद्यालयकी अस्मिता सुवेदी र सोनिया गुरुङ तथा केयूकी ज्ञानु गिरीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । भलिबलतर्फ पुरुष स्पर्धामा टीयू र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विजयी सुरुआत गरेका छन् । टीयूले सुदूरपश्चिमाञ्चललाई २६–२४, २५–१३, १८–२५, १९–२५ र १८–१६ को सेटमा पराजित गर्यो ।
मध्यपश्चिमाञ्चलले केयूलाई २५–२३, २५–१९ र २५–२३ को सोझो सेटमा हरायो । बास्केटबलतर्फ पुरुषमा केयू र टीयूले सफलता हात पारे । त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहलमा केयूले कृषिलाई ७०–२५ तथा टीयूले पूर्वाञ्चललाई ५०–३५ ले निराश पारे ।
यस्तै टेबलटेनिसको पुरुष सिंगल्समा केयूका अविन प्रजापति, कृषिका अनिश शाक्य, पूर्वाञ्चलका प्रवेश न्यौपाने तथा केयूका सुजन पन्तले सेमिफाइनल यात्रा तय गरे । उक्त स्पर्धाको महिलामा केयूकी दीपिका श्रेष्ठ, सुदूरपश्चिमाञ्चलकी देवकी भट्ट, केयूकी रेज्सा कोटेजा तथा कृषिकी निशा श्रेष्ठ सेमिफाइनलमा पुगे ।

No comments:
Post a Comment