असार ३०, २०७३- व्यवस्थापीका संसदको वातावरण संरक्षण समितिले चीनलाई दुई जोडी गैंडा दिने सरकारको निर्णयप्रति असहमति जनाएको छ ।
समितिका सभापति जनकराज चौधरीले वन, वन्यजन्तु र वातावरणका मुद्दामा समितिसँग बहसै नगरी सुटुक्क दुई जोडी गैंडा दिएको भन्दै त्यसबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र वन मन्त्रालयसँग स्पष्टीकरण माग्न लागेको बताए ।
‘उहाँहरुलाई बोलाएर यसबारे छलफल पनि गर्छौं’, चौधरीले कान्तिपुरलाई भने, ‘सम्वद्ध निकाय र विशेषज्ञहरुसँग छलफलै नगरी एक्कासी निर्णय गर्नु गलत हो ।’ आइतबारको मन्त्रीपरिषद्ले चीन सरकारलाई दुई जोडी वयस्क गैंडा उपहार दिने निर्णय गरेको थियो ।
सभापति चौधरीले मन्त्रीपरिषद्ले निर्णय गरे पनि त्यो नै अन्तिम निर्णय हुन नसक्ने भन्दै सरोकारवाला निकायलाई समितिमा बोलाउने तयारी भईरहेको पनि बताए ।
निर्णय लगत्तै निवर्तमान वनमन्त्री अग्निप्रसाद सापकोटासँग गैंडासम्वन्धि निर्णयबारे जिज्ञासा राख्दा उनले आफू एक दुई दिनको मात्र मन्त्री भएकाले विरोध नगर्न आग्रह गरेकोसमेत चौधरीले उल्लेख गरे ।
यस्तै, समिति अन्तर्गततको वन तथा वन्यजन्तु उपसमितिका संयोजक राजाराम स्याङ्तानले चीनलाई गैंडा दिन हतार गरिएकामा आपत्ति जनाए । उनले यसबारे विस्तृत छलफल गरेर मात्रै प्रक्रिया अघि बढाउनुपर्ने तर्कसमेत गरे ।
Source : kantipur.ekantipur.com/

No comments:
Post a Comment